काठमाडौँ- अमेरिकी राज्य मेरिल्यान्डको डिस्ट्रिक्ट ७एबाट हाउस अफ डेलिगेट्स सदस्यका लागि भएको डेमोक्र्याटिक प्राइमरी निर्वाचनमा नेपाली मूलका सतीश चापागाईं विजयी भएका छन्।
जुन २३ मा सम्पन्न प्राइमरी निर्वाचनको ९९ प्रतिशत मतगणना सकिँदा चापागाईंले कुल १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका हुन्। उनले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार बन्न सफल भएका छन्।
अब उनी आगामी नोभेम्बरमा हुने आमनिर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्।
चापागाईंले आफ्नो चुनावी अभियानका प्रमुख एजेन्डाका रूपमा ‘किफायती मेरिल्यान्ड, सुरक्षित समुदाय र सबल व्यवसाय’ लाई अघि सारेका छन्। उनले बढ्दो जीवनयापन खर्च नियन्त्रण, सुरक्षित समाज निर्माण तथा स्थानीय व्यवसायलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल उनी मेरिल्यान्ड डेमोक्र्याटिक पार्टीका निर्वाचित केन्द्रीय समिति सदस्य (Central Committee Member) समेत हुन्। राजनीतिसँगै उनी सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्।
चापागाईं एक सफल साना व्यवसायी हुनुका साथै बाल्टिमोर काउन्टी पब्लिक स्कुल्स मा दोभाषेका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले श्रमिक वर्ग, आप्रवासी समुदाय तथा सीमान्तकृत समूहको आवाजलाई प्राथमिकता दिँदै सामाजिक न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएका छन्।
राजनीति र सामाजिक सेवासँगै उनी साहित्य क्षेत्रमा पनि सक्रिय छन्। उनी सम्पादक, कवि तथा गीतकारका रूपमा परिचित छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको दुई कार्यकाल सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका चापागाईं हाल संस्थाका सल्लाहकारका रूपमा कार्यरत छन्।
अमेरिकाको स्थानीय राजनीतिमा नेपाली मूलका नागरिकको बढ्दो सहभागिताबीच चापागाईंको यो सफलता नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले अमेरिकी राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता थप सशक्त हुने विश्वास गरिएको छ।



























































