काठमाडौं – दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्याम सेन्टरमा ठगीका लागि लगिएका ८३६ जना नेपालीको उद्धार गरिएको छ।


ADVERTISEMENT


शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरिएको जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार कम्बोडिया सरकारले भिसा अवधि नाघेर बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै ६०२ जना नेपालीको जरिवाना तथा शुल्क माफी गरिदिएको छ।

प्रवक्ता पौडेलले कम्बोडियाबाट अझै स्वदेश फर्कन इच्छुक नभएका नेपालीका आफन्तलाई उनीहरूलाई अनिवार्य रूपमा नेपाल फर्कन प्रेरित गर्न विशेष आग्रह पनि गरेका छन्।

पत्रकार सम्मेलनमा उनले आर्थिक कूटनीतिलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै नेपाल सरकार ‘एक चीन नीति’ प्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन्।

त्यस्तै, नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको स्पष्ट पार्दै विभिन्न देशमा राजदूत नियुक्तिको प्रक्रिया जारी रहेको र त्यसबारे आगामी दिनमा थप जानकारी दिइने बताएका छन्।