जनकपुरधाम- जनकपुरस्थित जानकी मन्दिर परिसरमा श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको स्वागतका लागि पुगेका कार्यकर्तामाथि विभिन्न हिन्दुवादी संगठनमा आबद्ध युवाहरूले अवरोध गरेका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



अध्यक्ष साम्पाङलाई स्वागत गर्न मन्दिर परिसरमा बसेका श्रम, संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन्। हिन्दु सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो।

घटनापछि मन्दिर परिसरमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो। हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिरको मुख्य प्रवेशद्वार बाहिर प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए।

श्रम, संस्कृति पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका अध्यक्ष साम्पाङले जानकी मन्दिरमा दर्शन गर्ने तयारी गरेका थिए। तर आफ्ना कार्यकर्तालाई मन्दिर परिसरबाट लखेटिएपछि उनले मन्दिर प्रवेशमै अवरोध सिर्जना गरेर केही समूहले राजनीतिक लाभ लिन खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफ्ना समर्थकमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्। उनले समर्थकहरूलाई संयमित रहन आग्रह गर्दै कुनै पनि उक्साहटमा नलाग्न अपिल गरेका छन्।