विराटनगर- सुनसरी–मोरङ क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै विराटनगरमा शुक्रबार सद्भाव र्याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा बसेको सर्वदलीय बैठकले सामाजिक एकता, धार्मिक सहिष्णुता र सद्भाव कायम राख्ने उद्देश्यसहित र्याली आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले हिन्दु र मुस्लिम समुदायबीच सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई खलबल्याउने कुनै पनि गतिविधि निन्दनीय रहेको निष्कर्ष निकाल्दै शान्ति, सुरक्षा र सामाजिक एकता कायम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार शुक्रबार हुने सद्भाव र्यालीमा राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, धार्मिक संघ–संस्था, उद्योगी–व्यवसायी तथा युवाहरूको सहभागिता रहनेछ।
सर्वदलीय बैठकले शान्ति–सुरक्षा थप सुदृढ बनाउन सुरक्षा निकायलाई सबै पक्षबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै, जिल्ला प्रशासनले मठ–मन्दिर, मस्जिद तथा अन्य धार्मिक स्थलमा राखिएका माइक तथा लाउडस्पिकर बाहिर बजाउन रोक लगाउने निर्णयको समेत बैठकले स्वागत गरेको छ।



























































