काठमाडौं- गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा, प्रतिसेयर आम्दानी र लाभांश क्षमतामा आकर्षक वृद्धि हासिल गरेको छ।


ADVERTISEMENT


बैंकले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले यस वर्ष रु. १ अर्ब ६८ करोड ८७ लाख खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको रु. १ अर्ब २४ करोड ७७ लाखको तुलनामा ३५.३४ प्रतिशत बढी हो।


ADVERTISEMENT

# # #


एक वर्षको अवधिमा बैंकको खुद नाफा रु. ४४ करोड १० लाखले बढेको छ। यससँगै प्रतिसेयर वितरणयोग्य मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ, जसका आधारमा बैंकले करिब २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता विकास गरेको विश्लेषण गरिएको छ।

यद्यपि नाफामा आएको वृद्धिको मुख्य आधार बैंकको मूल बैंकिङ व्यवसायबाट भएको ब्याज आम्दानीको तीव्र विस्तारभन्दा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट खर्चमा आएको ठूलो कमी रहेको देखिएको छ। अर्थात् खर्च घटेकाले नाफा बढ्न ठूलो टेवा पुगेको हो।

वित्तीय विवरणले बैंकको खराब कर्जा (एनपीएल) अनुपात सामान्य रूपमा बढेको पनि देखाएको छ। साथै, खराब कर्जाका लागि छुट्याइएको नोक्सानी व्यवस्था अघिल्लो वर्षको तुलनामा केही घटेको छ। यसले बैंकको नाफा बलियो देखिए पनि कर्जा गुणस्तर व्यवस्थापनमा अझै सतर्कता अपनाउनुपर्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

बैंकको पूँजीगत आधार, सञ्चालन क्षमता र वितरणयोग्य मुनाफामा सुधार देखिए पनि आगामी दिनमा कर्जा विस्तारसँगै जोखिम व्यवस्थापनलाई सन्तुलित राख्नुपर्ने चुनौती भने कायम रहेको छ। यदि आगामी अवधिमा कर्जा गुणस्तर सुधार गर्दै सञ्चालन नाफालाई थप मजबुत बनाउन सकियो भने बैंकको वित्तीय अवस्था अझ सुदृढ हुने अपेक्षा गरिएको छ।