काठमाडौ – देशभर मनसुन सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले वर्षाको गतिविधि कायम रहनेछ।


ADVERTISEMENT


आइतबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको महाशाखाले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।


ADVERTISEMENT

# # #


यस्तै, हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर बदली रहने र कोसी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने महाशाखाको चेतावनी छ।