काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोमा सहभागी ग्राहकलाई लक्षित गर्दै व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।


ADVERTISEMENT


बैंकले सार्वजनिक गरेको योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा प्राप्त गर्न सक्नेछन्। यसअनुसार हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर कायम हुनेछ।


ADVERTISEMENT

# # #


बैंकको आधारदरमा घटबढ भएअनुसार उक्त कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ।

त्यस्तै, नाइमा अटो एक्स्पोमा नयाँ ईभी गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ।

ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोमा आफ्नो स्टल राखी गाडी खरिद गर्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रियामा सहजीकरण गर्ने व्यवस्था गरेको छ। ग्राहकले बैंकको स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्।

कागजात पूरा गरेपछि बैंकले गाडी खरिदका लागि अधिकतम तीन कार्यदिनभित्र स्वीकृतिपत्र प्रदान गर्ने जनाएको छ।

बैंकले आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको जनाएको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ लगायतका उपाधि प्राप्त गरेको उल्लेख गरेको छ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा सेवा दिँदै आएको छ। बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।

बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।