काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको बताएका छन्।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताएका हुन्।
सभापति लामिछानेले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको धारणा राखेका छन्। रास्वपा ’विकल्प खोज्ने’ नभई आफैँ ’विकल्प बन्ने’ र ’निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ ।
त्यस्तै सभापति लामिछानेले युवा सांसद र मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई नतिजा र परिणाममुखी भएर काम गर्ने समय रहेको उल्लेख गरेका छन् ।
युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा “अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन“ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भएकाले गम्भीर बन्न सभापति लामिछानेले आग्रह गरेका छन् ।



























































