त्रिविको परीक्षा प्रणाली सुधार्न अनेरास्ववियुको माग, आङ्गिक–सामुदायिक क्याम्पसमै परीक्षा केन्द्र तोक्न जोड
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएका ढिलासुस्ती, केन्द्रीकरण र अपारदर्शिता अन्त्य गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले परीक्षा नियन्त्रण कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले बिहीबार परीक्षा नियन्त्रक प्रा।डा। लक्ष्मण पौडेललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा प्रणालीलाई डिजिटल, पारदर्शी, विकेन्द्रीकृत र विद्यार्थीमैत्री बनाउन तत्काल सुधार गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा परीक्षा केन्द्र अनिवार्य रूपमा त्रिविका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र तोक्नुपर्ने माग गरिएको छ । निजी तथा अन्य संस्थामा परीक्षा केन्द्र तोक्दा विद्यार्थीलाई अतिरिक्त आर्थिक तथा व्यवस्थापनसम्बन्धी समस्या पर्ने भएकाले परीक्षा केन्द्र निर्धारणमा स्पष्ट मापदण्ड बनाउनुपर्ने संगठनको भनाइ छ ।
अनेरास्ववियुले प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको पूर्वाधार तथा जनशक्ति विस्तार गरी सेवा विकेन्द्रीकरण गर्नुपर्ने माग पनि गरेको छ । विद्यार्थीले सामान्य सेवा लिनसमेत केन्द्रीय कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी प्रदेशस्तरबाटै अधिकांश सेवा उपलब्ध गराउनुपर्ने उसको माग छ ।
त्यस्तै, प्रश्नपत्र सुरक्षित अनलाइन प्रणालीमार्फत पठाउने व्यवस्था गर्नुपर्ने, परीक्षा सञ्चालनमा प्रविधिको प्रयोग बढाउनुपर्ने र परीक्षा व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने माग गरिएको छ ।
पुनर्योग तथा पुनः परीक्षणमा परीक्षा नियन्त्रण कार्यालयकै त्रुटि प्रमाणित भए विद्यार्थीबाट लिइएको शुल्क फिर्ता गर्नुपर्ने अनेरास्ववियुको माग छ । ट्रान्सक्रिप्टलगायत सम्पूर्ण शैक्षिक प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यार्थीलाई शुल्क भुक्तानीमा सहज बनाउन इसेवा, खल्ती र फोनपेलगायत थप डिजिटल भुक्तानी माध्यम सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । अदालतको आदेशका आधारमा जारी हुने ट्रान्सक्रिप्टमा ‘अदालतको आदेश बमोजिम’ भन्ने शब्दावली हटाउनुपर्ने मागसमेत संगठनले अघि सारेको छ ।
यसैगरी, नेपाल बार काउन्सिलको अधिवक्ता परीक्षालाई ध्यानमा राख्दै एलएलबी तेस्रो वर्षको नतिजा १५ दिनभित्र सार्वजनिक गर्न अनेरास्ववियुले माग गरेको छ । नतिजा प्रकाशनमा हुने ढिलाइले विद्यार्थीको आगामी अध्ययन तथा व्यावसायिक प्रक्रियामा असर पर्ने भन्दै तत्काल समयसीमा तोकेर काम गर्नुपर्ने संगठनको भनाइ छ ।
अनेरास्ववियु त्रिवि जिल्ला कमिटी संयोजक हिक्मतकुमार बुढाले परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीले सहज, छिटो र पारदर्शी सेवा पाउने वातावरण निर्माण गर्न आफूहरूले सुधारका माग अघि सारेको बताए ।
अनेरास्ववियुले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन, पुनर्योग, पुनः परीक्षण र प्रमाणपत्र वितरणसम्मका सबै प्रक्रियालाई समयबद्ध र प्रविधिमैत्री बनाउन त्रिवि प्रशासनसँग माग गरेको छ ।



























































