काठमाडौं- एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।
नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गरी सुरु गरिएको यो प्लेटफर्मले वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थिति व्यवस्थापनलाई सहज बनाउने कम्पनीले जनाएको छ।
क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सुविधा प्राप्त गर्न सक्नेछन्।
एनसेलले सेवाअन्तर्गत दुईवटा प्याकेज सार्वजनिक गरेको छ। मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध छन्।
त्यस्तै, मासिक २ हजार रुपैयाँ पर्ने प्रो प्याकेजमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटको सुरुवात नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन सहयोग गर्ने महत्वपूर्ण कदम भएको बताए।
उनका अनुसार स्थानीय सहयोग, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधाले व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल क्षेत्रमा प्रवेश गर्न सहज बनाउनेछ।
एनसेल बिजनेस क्लाउडसुइटमा वेबसाइट होस्टिङ र डेटा नेपालभित्रै राख्ने सुविधा रहेको कम्पनीले जनाएको छ। यसबाट ग्राहकले आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्तिमा थप नियन्त्रण कायम गर्न सक्नेछन् भने नियामक आवश्यकताहरू पूरा गर्नसमेत सहज हुने कम्पनीको भनाइ छ।



























































