काठमाडौं – सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको हो । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट १६ जनालाई एक–एक लाखको विजेता र १ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो ।
जस अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उपभोक्ताहरूमा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र व्यवसायीले बिल दिने बानीको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । यस कार्यक्रमले राज्यको राजस्व संकलनमा वृद्धि गर्ने र सम्पूर्ण नागरिक तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन मद्दत पु¥याउने लक्ष्य राखिएको उहाले बताए । उनले आन्तरिक राजस्व विभाग, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको संयुक्त मेहनतबाट कुनै प्राविधिक त्रुटिबिना कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे ।
साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता भएको विभागले जनाएको छ । त्यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ । कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।




























































