काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन केन्द्रीत क्यान्डिडेट क्लबको घोषणा गरेको छ ।
सोमबार पार्टी कार्यालय बनस्थलीमा आयोजित एक कार्यक्रमकाबीच रास्वपा सभापति रवि लामिछानले क्यान्डिडेट क्लबको शुभारम्भ गरेका हुन् । आगामी स्थानीय तहका उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लबको अवधारणा ल्याइएको सभापति लामिछानेले बताएका छन् ।
आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा अनलाइनमार्फत आवदेन दिन सक्ने र आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गरिने उनको भनाइ छ । सभापति लामिछानेले नेपाली राजनीतिमा योग्यता प्रणाली स्थापित गर्न र सक्षम नेतृत्व उत्पादन गर्न ’क्यान्डिडेट क्लब’ र ’लिडरसिप एकेडेमी’ को अवधारणा ल्याइएको बताएका छन् ।
सभापति लामिछानेले उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक झमेला भए नभएको परीक्षण गरेर मात्र योग्य व्यक्तिलाई अघि सार्ने व्यवस्था रास्वपाले गरेको उनले बताए ।
नयाँ पार्टीका रूपमा आएका गुनासा र प्रतिक्रियाहरूलाई आत्मसात गर्दै पार्टी र मुलुकलाई सही ढंगले अगाडि बढाउने र नागरिकको विश्वास खेर जान नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
चर्चित वा लोकप्रिय भएर चुनाव जित्नु मात्र पर्याप्त नहुने भएकाले सम्बन्धित तहको काम, कर्तव्य, अधिकार र कानुनबारे आधारभूत ज्ञान दिलाउन प्रशिक्षण दिइने समेत लामिछानेले बताएका छन् ।




























































