मकवानपुर- विद्यालयबाट घर फर्किने क्रममा हेटौँडा–१९ स्थित बासुदेव खोलाले चार जना विद्यार्थीलाई बगाएको दुःखद घटनाप्रति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गहिरो दुःख व्यक्त गरेका छन्।
निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खोलाले बगाएको खबरले आफू स्तब्ध भएको बताउँदै मुख्यमन्त्री बानियाँले बेपत्ता बालबालिकाको खोजी, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै आवश्यक स्रोतसाधनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित उद्धार टोलीलाई तत्काल घटनास्थलमा परिचालन हुन निर्देशन दिएका हुन्। उनले सम्भावित सबै स्थानमा प्रभावकारी रूपमा खोजी अघि बढाउँदै उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
घटनामा एक बालिकाको शव फेला परेको छ भने अन्य बालबालिका अझै बेपत्ता छन्। बेपत्ता विद्यार्थीहरूको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरू निरन्तर घटनास्थलमा खटिएका छन्।
मुख्यमन्त्री बानियाँले यस दुःखद घटनाबाट पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता बालबालिकाहरूको सकुशल उद्धारको कामना गरेका छन्।
घटनाले स्थानीय समुदायमा समेत गहिरो पीडा र चिन्ता सिर्जना गरेको छ। बेपत्ता बालबालिकाको खोजी जारी रहेकाले उनीहरूको अवस्था पत्ता लगाउन उद्धार टोलीले सम्भावित क्षेत्रहरूमा खोजी कार्यलाई थप तीव्र बनाएको छ।





























































