काठमाडौं- प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नेपाल फिड इन्डस्ट्रीज एसोसिएसनको मुख्य आयोजनामा हुने दौडमा ८ हजारभन्दा बढी धावक सहभागी हुने बताइएको छ । प्रतियोगितामा विभिन्न दौड विद्यामा ४ हजार तथा अन्य सहभागिहरु गरी ८ हजार दौडने अपेक्षा आयोजकले गरेको छ । पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई सोही स्थानमा सम्पन्न हुने एसोसिएसनले जनाएको छ । दौडको मार्ग बसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौदी–पामे हुँदै पुनः बसुन्धरा पार्कसम्म रहने आयोजकले जनाएका छन ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा ८ विभिन्न विधा समावेश छन् । पुरुष तथा महिला हाफ म्याराथन २१ किलोमिटर, पुरुष १० किलोमिटर खुला दौड, महिला ५ किलोमिटर खुला दौड, कक्षा १२ सम्मका पुरुष तथा महिला युवा दौड र पुरुष तथा महिला ह्विलचेयर दौड सञ्चालन हुनेछन् ।

हाफ म्याराथनतर्फ पहिलो देखि पाँचौ स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीहरुलाई क्रमश जनही नगद रु १ लाख ५० हजार, १ लाख, ५० हजार, ३० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै १० किमि महिला तथा पुरुष पाँच–पाँच जना पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौ हुनेलाई क्रमश जनही नगद रु ५०, ३०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले ‘राइट टु प्रोटिन रन’लाई खेलकुद प्रतियोगितामा मात्र सीमित नराखी राष्ट्रियस्तरमा पोषण, शारीरिक गतिविधि र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाउने जनाएको छ ।