काठमाडौं- चितवनको देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार पानीको सतह करिब ३ मिटरले बढेर ८ मिटर आसपास पुग्न सक्ने र २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुन सक्ने अनुमान गरिएको छ।
यसअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहे पनि नदी किनारका बस्ती तथा बजारका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरिएको छ।
यसैबीच, रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएको छ। धादिङको बैरेनी बजारमा बाढीले घर, टहरा, झोलुंगे पुललगायतका संरचना बगाएको छ।
बाढीका कारण धादिङ सदरमुकाम जोड्ने फुर्के खोला पुलसमेत बगाएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।






























































