काठमाडौं – गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ तीर्थयात्री लिएर गएको बस सम्पर्कविहीन भएको छ।
बुधबार बिहान पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री लिएर हिँडेको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा चालकसहित ३८ जना यात्रु सवार थिए। तीमध्ये चार जना बसबाट हाम फालेर सम्पर्कमा आएको र ३४ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
बाढी तथा पहिरोका कारण बाटो अवरुद्ध भएका बेला बस सम्पर्कविहीन भएपछि यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। बसको खोजी तथा यात्रुको अवस्थाबारे जानकारी लिन प्रयास भइरहेको छ।
बससँगै गोसाइकुण्डतर्फ गएका दुई वटा माइक्रोबस भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। ती दुई माइक्रोमा गरी २६ जना यात्रु सवार थिए। सम्पर्कविहीन बस र यात्रुको खोजीका लागि सुरक्षा निकायले आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ।






























































