काठमाडौं – सरकारले भोटेकोशी नदी र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन्।
मन्त्री गुरुङले अहिले कुनै पनि हेलिकप्टर निजी प्रयोजनका लागि सञ्चालन गर्न नपाइने स्पष्ट पार्दै सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकको उद्धार भएको बताए।
उनले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखेर सुरक्षा टोली परिचालन गरिएको सरकारले जनाएको छ।






























































