काठमाडौँ- रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि भारतले थप ३७.५ टन मानवीय सहायता तथा राहत सामग्री नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करका अनुसार औषधि, खाद्यान्न तथा अन्य आवश्यक विपद् राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको हो। जयशङ्करले भारत नेपालका सम्बन्धित अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै बाढीपीडितको राहत तथा उद्धार प्रयासमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि भारतले १० टन राहत सामग्री नेपाल पठाइसकेको थियो। उक्त सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कप्रसाद पौडेल ‘गनेस’लाई हस्तान्तरण गरेका थिए।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति समवेदना पनि प्रकट गरेका छन्।































































