काठमाडौं – भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम तीव्र भएको छ। ३६ घण्टाको अवधिमा मात्रै कोषमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ।


ADVERTISEMENT


अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो।


ADVERTISEMENT

# # #


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्न थालेको हो।

नयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात थियो।

सरकारले कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहनेले अर्थ मन्त्रालयमै पुगेर रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

यसैबीच, बिहीबार मात्रै ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

अर्थ मन्त्रालयका अनुसार उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।