काठमाडौं – नेपाल टेलिकमले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ। हालसम्म १२० प्रभावित साइटमध्ये ८० साइटमा मोबाइल सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।


ADVERTISEMENT


टेलिकमले हेलिकप्टरमार्फत कर्मचारी, जेनेरेटर र इन्धन परिचालन गरी रसुवाको धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याएको छ। यस्तै, गोल्जुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड र गोसाईंकुण्डका विभिन्न क्षेत्रमा मोबाइल सेवा पुनः सुचारु भएको छ।


ADVERTISEMENT

# # #


नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर पनि सञ्चालनमा आएको छ। यसबाट विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ।

यस्तै, विदुर–८ को तुप्चे टावर तथा टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावर सञ्चालनका लागि हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल र प्राविधिक टोली परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन टेलिकमका प्राविधिक कर्मचारीहरू न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चेलगायतका स्टेशनमा निरन्तर खटिएका छन्।

टेलिकमले विपद्को समयमा सेवा निरन्तरता, पूर्वसूचना, सचेतना तथा आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकता दिएको जनाएको छ। सेवा पुनः सञ्चालनले प्रभावित नागरिकलाई आफन्त तथा उद्धारकर्मीसँग सम्पर्क कायम गर्न सहज हुने कम्पनीको विश्वास छ।