काठमाडौं – रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको बिदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्दार टोलीलाई काम गर्न कठिन भएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ ।
भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरुलाई बाधा पुगेपछि सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् ।































































