काठमाडौं- बाढीबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमार्फत सिंगापुरसँग प्राविधिक सहयोग मागिएको जानकारी दिएका हुन् ।
उनका अनुसार डीएनए परीक्षणका लागि अमेरिकासँग सहयोग तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक उच्च क्षमताका उपकरणका लागि चीनसँग सहयोग मागिएको छ ।
बाढीपछि उद्धार तथा राहतका लागि भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगायत मुलुक तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले बताए ।
विदेशी सहयोगअन्तर्गत उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न तथा औषधिलगायत सामग्री प्राप्त भएका छन् ।
भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने दक्षिण कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत मूल्यांकन गरी पुनःस्थापना र पुनर्निर्माणको योजना अघि बढाइनेछ ।
घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा भएको क्षतिको आधारमा पुनर्निर्माणका लागि आवश्यक स्रोत निर्धारण गरिनेछ ।
परराष्ट्र मन्त्रालयले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोग आवश्यक पर्ने जनाएको छ ।































































