काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार भदौ २२ गते सोमबार नेपालभर राष्ट्रिय शोक मनाइनेछ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत भएको छ।
सरकारले भोटेकोशी बाढीमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति सम्मानस्वरूप राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।































































