काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गरी आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।
काठमाडौंमा आयोजित एक समारोहबीच स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेश्वरप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबारसँगै दुवै संस्थाका शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबार एउटै संस्थामार्फत सञ्चालन हुने भएको छ । यसबाट संस्थाको वित्तीय क्षमता र सञ्चालन दक्षता थप बलियो हुने अपेक्षा गरिएको छ ।
एकीकरणअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ र विन नेपालको करिब ८ करोड ४३ लाख रुपैयाँ रहेकोमा एकीकरणपछि चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
एकीकृत संस्थाको शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको छ । संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ तथा कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको जनाइएको छ ।
लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले पुँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
































































