काठमाडौं : साझा पार्टीका संयोजक रविन्द्र मिश्रले २०७० सालदेखि ठेक्का पाएको नगरकोट जाने बाटो नबनेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डप्रति व्यंग्य गरेका छन् । आइतबार आफ्नो ट्विटर पेजमा पोस्ट गर्दै उनले प्रचण्डका घरबेटीले उक्त बाटोको ठेक्का लिएर अलपत्र पारेको बताएका हुन् ।


ADVERTISEMENT


उनले लेखेका छन ‘प्रचण्डजीको घरबेटी र नगरकोटको बाटो: यो नगरकोट जाने बाटो प्रचण्डजीको घरबेटीले ठेक्कामा पाएको ७० सालमा। नगरकोट, प्रमुख पर्यटकीय गन्तव्य। भ्रमणवर्ष संघारमैं छ। बाटोछेउका वासिन्दाले धुलो पिएको वर्षौं भइसक्यो। तैपनि बाटो छेउका कयौं घरमा रुख/सूर्यका झण्डा झुण्डिएको छ। अब पनि नसोच्ने?’


ADVERTISEMENT

# # #


कमलविनायकबाट  भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो । तर, निर्माणको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले अबको जेठमा पनि यसको काम सक्न मुस्किल छ ।

१६ किलोमिटर सडक बनाउन शैलुङले अझै कति वर्ष लगाउने कुनै टुंगो छैन । भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि भुक्तानीमा पनि समस्या छ ।

भक्तपुरको बिष्णु कुण्डली-सिद्धीकाली सडकमा पनि शैलुङसँगै ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । यो खण्डको काम पनि म्याद थपेर त्यसै राखिएको छ ।

नागढुंगा-कलंकी सडक खण्डको हालत पनि उस्तै छ । यो सडकको सबै खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । मुख्य रुपमा सडकमा उसले काम गरिरहेको छ । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

ठेकेदार कम्पनी शैलुङले घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको दावी गर्दै आएको छ । तर, काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ ।