काठमाडौं – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदको सम्पूर्ण खर्च ९० दिनमा सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टस नेपालमा बोल्दै सदस्य सचिव सिलवालले पूर्वघोषणा अनुसार नै साग सम्पन्न भएको ९० दिनभित्रै सम्पूर्ण खर्च सार्वजनिक गर्ने बताएका हुन् । उनले भने, ‘सबै हिसाबकिताब म तपाईहरुलाई जानकारी गराउँछु ।’ यस्तै उनले गौरिका सिंहले सागमा पदक जितेवापत पुरस्कार ५९ लाख पाउने बताए । ‘एक स्वर्ण जित्नेले ९ लाख पाउनुहुन्छ । र, एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउनुहुन्छ ।’


ADVERTISEMENT

# # #


उनले पदकधारीले कसले कति पुरस्कार पाउने भनेर सोधिएको सवालमा भने, ‘गौरिका सिंहले ११ लाखको दरले करिब ५९ लाख पाउनुहुन्छ । यसमा द्विविधा हुनुपर्ने विषय छैन् ।’ यस्तै उनले सागमा पदक जित्ने खेलाडीलाई शुक्रबार दशरथ रंगशालाबाट नगरपरिक्रमा गर्ने बताए । आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै उनले सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएर समयमै सम्पन्न गरेको जिकिर गरे ।

सागलाई लक्षित गर्दै २१ खेलका खेलाडीलाई विदेशमा प्रशिक्षण गराएको र डाईटिसियन र न्यूट्रिसियन पनि उल्लेख्य मात्रामा उपलब्ध गराएको उनले दाबी गरे । उनले सागको व्यवस्थापनको सवालमा झिनामसिना अवस्थाबाहेक सबैमा सफल भएको पनि दाबी गरे ।

सदस्यसचिव सिलवालले आफूहरुको अबको ध्यान भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सुनाउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भिर भएर लाग्ने बताए । उनले भने, ‘दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।’

उनले आगामी चार वर्षभित्र ७ वटै प्रदशेमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनेपनि उनले घोषणा गरे । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्दैछौं ।’ उनले भने, ‘तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्छौं ।’ उनले आफूले कर्मचारीको स्थायित्व, सुशासन र पारदर्शीता अपनाउने पनि बताए ।