– रमेश पौडेल, सह-संयोजक, राष्ट्रिय युवा संघ नेपाल

राष्ट्रिय युवासंघ नेपालको पछिल्लो हालखबर के छ ?

मूलरुपमा तीन चारवटा कुरालाई केन्द्रिकृत गरेर हामीले अगाडि बढ्ने कुरा गरेका छौँ । एउटा आन्तरिक सुदृढिकरण । अर्को, राष्ट्रियताको प्रवर्द्धन, हाम्रा सामुदायिक मुद्दाहरुको उठान, प्राप्त उपलब्धीहरुको रक्षा र थप  उपलब्धीका लागि संघर्ष । यस्तै पार्टी र सरकारले गरेका सही कामको रक्षा र प्रचार,  जनजीविका लगायत आम जनताका सरोकारका मुद्दाहरुमा हाम्रो अभियान सञ्चालित छ ।


ADVERTISEMENT


 युवासंघ नेपाल र वाईसीयल एक भइसकेपछि संगठन पूर्ण घुलन भईसक्यो त ?


ADVERTISEMENT

# # #


तपाईले सप्तकोशीको ब्यारेज देख्नुभएकै छ । त्यहाँ पुगिसकेपछि सुनकोशी, भोटेकोशी, दूधकोशी, तामाकोशीको पानी या लिखु अथवा अरुणको पानी छुट्याउन सक्नुहुन्न । तर, कोशी ब्यारेजभन्दा माथि दुई वा तीन नदी मिसिएको ठाउँमा पुग्नुभयो भने त्यहाँ अवश्य छुट्याउन सकिन्छ कि सुनकोशीको पानी कुन हो, दूधकोशीको पानी कुन हो ?

सरल तरिकाले बगिरहेको नदीमा खहरे खोला मिसियो भने त्यसको धार अलि तलसम्म रहन्छ । हामी छुट्टै विधि, ‘स्कुलिङ’ र छुट्टै हुर्काइबाट आएका संगठन हौँ ।

युवासंघ नेपालले आफूलाई जनमतमा अभ्यस्त बनायो । केन्द्रियता र जनवाद हाम्रो संगठनको मर्म नै हो । लेलिनवादी संगठनात्मक ढाँचा अन्तर्गतको विषय पनि महत्वपूर्ण नै हो । तर, हामीले जनवादको अभ्यास प्रशस्तै गर्‍यौँ । लोकतन्त्रलाई हामीले जीवन पद्धती बनायौँ । संगठनभित्रको लोकतन्त्र, मुलुकको लोकतन्त्र, कार्यकर्ताको जीवनशैलीमा लोकतन्त्रलाई हामीले मान्यता दियौँ । श्रृंखलावद्ध रुपमा कमिटिहरु पार गर्दै नेता-कार्यकर्ता ल्यायौँ । विचारका हिसाबले प्रस्ट वैज्ञानिक विचार बोकेर हामी आयौँ । कार्यकर्ता मात्रै होइन, आम जनतामा स्थापित कार्यकर्ताको पंक्ति हामीसंग रह्यो । गर्वका साथ भन्न सक्छौँ, नेपालको युवा आन्दोलनले प्राप्त गरेका उपलब्धीहरुमा हाम्रो भूमिका अग्रणी रह्यो । त्यस्तै वाइसीएलले पनि आफूलाई माओवादी आन्दोलनको महत्वपूर्ण सहायक शक्तिका रुपमा आफूलाई विकास गरेर ल्यायो ।

हिजो माओवादीका लागि वाइसीएलले जनमुक्ति सेनाको निर्माणमा योगदान गर्‍यो । यसरी हेर्दा यी दुईवटा संगठनका विशेषताहरु फरकफरक छन् । यी फरक फरक विचार, संस्कृति र सिद्धान्त भएका संगठनलाई हामी एकतावद्ध गर्दैछौँ ।  यो एकता प्रक्रियाले सुखी नेपाली, समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार गर्दै समाजवादको दिशामा जाने, सामुदायिक मुद्दाहरु सम्बोधन गर्ने भन्ने कुरामा हाम्रो साझा दृष्टिकोण रह्यो । पार्टी, मुलुकको हित र आम युवा समुदायको हितलाई ध्यानमा राख्दै एकता प्रक्रिया भयो । मैँले अघि पनि भनेँ,

दुईवटा नदी मिसिएका छन् । अन्तर्घुलित हुनलाई अलि तलसम्म बग्नुपर्छ । भनेको एक दुईवटा महाधिवेशनसम्म नपुग्दासम्म यो पूर्ण घुलन भइसक्दैन ।

दुईवटा संगठनलाई एक बनाएर चलाउँदाको जटिलता महसुस गर्न थाल्नुभएको हो ?

अवश्य पनि त्यो हुन्छ नै । सामूहिक भावना, सामूहिक नेतृत्व प्रणाली र सामूहिक विश्वासमा मैँले संगठन चलाएको हो ।

जालझेल, षड्यन्त्र म गर्दिनँ । त्यो मेरो बिषय होइन । समाज, मुलुक, जसका लागि लडेका हौँ, त्यसलाई शीरमा बोकेर हिंडेको शक्ति हो युवा संघ नेपाल र म । त्यसकारण कुरा एक गर्ने काम अर्कै गर्ने बानी मलाई मन पर्दैन ।

संगठनमा तपाईको असन्तुष्टि भन्ने बुझौं ?

होइन, छलफल र निर्णय सामूहिक गरेपनि कार्यान्वयन एकल गरियो भने त्यो राम्रो हुँदैन । छलफलको निष्कर्ष के हो, त्यो कार्यान्वयन हुनुपर्छ ।

आफ्नो संयोजकको मैँले आलोचना किन गर्नुपर्‍यो ? उहाँले राम्रो गर्नुहोस् भन्ने मेरो शुभेच्छा र साथ छ । तर, उहाँले एउटा प्रणालीबाट संगठनलाई अगाडि बढाउनु पर्छ । विज्ञप्ती निकाल्दा होस् वा निर्णय कार्यान्वयन गराउँदा होस्, संयुक्त रुपमा हुनुपर्छ । केन्द्रिय कमिटिले पनि भनेको त्यही नै हो । अलिकति तौरतरिका पुर्‍याएर चल्नुपर्छ ।

म इमान्दार छु, सोझो छु, बोल्दिनँ । यसको मतलब यो होइन कि म बुझ्दिँन । यसको मतलब यो होइन कि म बोल्न जान्दिँन । के गर्दै हुनुहुन्छ सबै बुझ्दैछु ।

यो आन्दोलन सामुहिकतामा विकास भएको आन्दोलन हो । मनोविज्ञान छुट्टै छ कि म युवा संघकै अध्यक्ष हो, दीपशिखाजी वाइसीएलकै अध्यक्ष हो भन्ने जस्तो ! अहिले उहाँ संयोजक हो म सह-संयोजक । तर,

महाधिवेशन भएर म सह-संयोजक र उहाँ संयोजक भएको होइन । एकताको विशिष्टतालाई ध्यान दिनुपर्छ । मैँले उहाँलाई त्यही अनुसारको सम्मान गर्नुपर्छ र उहाँले मलाई त्यही अनुसारको व्यवहार गर्नुपर्छ । त्यसो गरिएन भने समस्या हुन्छ । संयोजकमात्रै कार्यकारी होइन ।

उसो भए संयोजकसंग तपाईको चित्तदुखाई छ ?

एक बनाएर संगठन चलाउन  उहाँ बाधक बन्नुहुँदैन । संगठनलाई बलियो बनाउनका लागि उहाँलाई मेरो साथ हरकिसिमको छ भनेकै छु । आन्दोलन र मुलुकको हितमा तपाईसंग विलीन हुन तयार छु भनेको छु । त्यसै अनुसार गरेको पनि छु ।

तपाईंको भनाई संगठनमा आफ्नो भूमिका फराकिलो हुनुपर्‍यो भन्ने हो ?

होइन, कमरेड दीपशिखाले सामूहिकतामा चल्नुपर्‍यो । भएका निर्णय बोक्नु पर्‍यो । केन्द्रिय कमिटिले संयोजक र सहसंयोजकले गर है भन्दैगर्दा उहाँले एक्लै, सल्लाहै नगरिकन काम गर्नुभयो; त्यसै अनुसार भयो भने मेरो असहमति त रहन्छ नै !

यसको स्थायी समाधान के त ? महाधिवेशन ?

हो, महाधिवेशनको विकल्प छैन । लोकतान्त्रिक विधि प्रक्रियाबाटै सबै कुरा टुंग्याउनुपर्छ । सँधै तोकेको नेतृत्व कति दिन सम्म चल्छ ?

कहिले हुन्छ त महाधिवेशन ?

महाधिवेशन गर्न केन्द्रिय कमिटि बनेको छ । प्रदेश कमिटिहरु बन्नुपर्यो, जिल्ला कमिटिहरु, आयोग र पालिकादेखि टोलसम्मका कमिटिहरु व्यवस्थित हुनुपर्‍यो । तिनका अधिवेशन हुनुपर्‍यो पहिला त !  प्रतिनिधि छान्ने सबै अवयवहरु तयार भइसकेपछि मात्रै महाधिवेशन हुने हो । त्यसका लागि आवश्यक तयारी गर्नुपर्छ ।

संयोजक र सह-संयोजकबीच जसरी सहकार्यको अभावको कुरा गर्नुभयो, यसले युवासंघलाई दुर्घटनातिर त लाँदैन ?

आन्तरिक रुपमा राख्दै आएपनि यो कुरा मैँले बाहिर बोलेको थिइनँ । कार्यकर्ताले किन एकतामा ढिलो भयो भन्ने कुरा थाहा पाओस् भनेर पहिलो पटक तपाईंहरुसंग बोल्दैछु म । दीपशिखा कमरेड विभिन्न कार्यक्रमको लागि युरोपमा हुनुहुन्छ । उहाँ नभएका बेला धेरै कुरा सबै कुरा गरिनहालौं । मेरो नेतृत्वलाई सहयोग गर्ने कुरा महत्वपूर्ण हो ।

उहाँ आएपछि म बाँकी कुरा राख्छु नै । तर, एउटा कुरा के हो भने कमजोरी सच्याइएन भने समस्या निम्त्याउँछ । दुर्घटना त दूरको घटना हो । त्यो त हामी निम्तिनै दिँदैनौँ !

यो कुरा पार्टी नेतृत्वसंग पुगेको छ कि छैन ?

छ । कम्युनिस्टहरुको एउटा मज्जाको कुरा भनेको हामी जुध्दाजुध्दै मिल्न जान्दछौँ । मिल्दामिल्दै जुध्छौँ । त्यही भएर त हामी कम्युनिस्ट हौँ । पार्टीका नेताहरुलाई मैँले पहिले नै जानकारी गराएको हुँ । तर, यो बीचमा उपनिर्वाचन थियो । निर्वाचनका बेला यस्तो कुरा बाहिर आउनु हुँदैन भन्ने थियो । अहिले पनि सबै कुरा त खोलिसकेको छैन । तर, असहमति चाहीँ दर्ज गरेको छु ।

दुईवटा संगठन भर्खरै एक भएको छ । एक्लै विज्ञप्ती ठोकेर त भएन नि ? एक्लै सर्कुलर जारी गरेर त भएन नि ? यो दुईवटा संगठनको एकता पछिको संगठन हो भन्ने त बुझ्नुपर्यो नि ! हातमा कलम पर्‍यो कि एक्लै भएपनि तोडिहाल्ने ? मलाई
दीपशिखाजीले अहिले कार्यबाहक दिनुभएको छ । अब मैँले मनलाग्दी गर्ने ? यो त भएन नि ? त्यसकारण विश्वास लिएर काम गर्नसक्नुपर्यो भन्ने हो ।

संगठन सञ्चालनमा बेमेल देखिरह्यो भने नेतृत्व परिवर्तनको सम्भावना पनि छ र ? त्यस्तो पनि देख्नुहुन्छ तपाईं ?

त्यो त अहिले हुने सम्भावना छैन । असहमति प्रक्रियागत हुन्छ, त्यो भयो भने सच्याउने हो । सच्याउन नसकिने खालको समस्या नै छैन । फेरि दीपशिखाजी त समस्या समाधानमा ‘कन्भिन्स’ हुने खालको मान्छे हो भन्ने मैले बुझेको छु । त्यही भएर संगै काम गरिरहेका छौँ । उहाँ ‘कन्भिन्स’ हुनुभयो भने यो सच्चिएर जाने हो । संगठन सञ्चालनको सम्बन्धमा कार्यविधि बनाएर जानुपर्छ भन्ने पनि हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

भविष्य सुन्दर छ हाम्रो । अब मुलुकमा युवाहरुको नेतृत्वका लागि पार्टीसंग, समाजसंग र देशसंग ‘बार्गेनिङ’ शक्तिको विकास गर्नुपर्ने छ । त्यसो भएन भने मुलुकलाई गाली गरेरमात्रै केही हुँदैन । युवाहरुको नेतृत्व गर्दै भबिश्यमा देशको उज्वल भबिष्यका लागि बागडोर सम्हाल्न सक्छौं भनेर आफूलाई प्रमाणित गरौँ ।