ललितपुर । सद्भाव युवा समाज नेपालले विद्यार्थीहरुलाई न्यानो कपडा सहित स्टेशनरी सामग्री वितरण गरेको छ । ललितपुरको इकुडोलमा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत ६० बिधार्थीहरुलाई राहत बितरण गरिएको समाजका केदार चापागाईले हिमालयपोष्टलाई जानकारी दिएका छन् ।
अध्यक्ष देश प्रकाश श्रेष्ठ सहितको पदाधिकारीहरुको उपस्थितिमा कक्षा १ देखि प्लस टु सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको संस्थाका उपाध्यक्ष प्रदिप रुपाखेतीले बताएका छन् ।
२०७२ सालको महाभुकम्पबाट क्षतविक्षत भएको स्कुलको निर्माण कार्य बल्ल भएको भन्दै प्रधानध्यापक दशरथ यादवले बिधार्थीहरुलाई गरिएको सहयोगले उनीहरुको शिक्षामा मद्धत पुग्ने बताएका छन् । दाताहरुको सहयोगमा स्कुलको भवन बनेपनि विद्यार्थीहरुको पारिवारिक अवस्था नाजुक भएकोले कतिपय विद्यार्थीहरुले बीचमा नैविद्यालय छोड्ने गरेको उनले बताए ।
२०३५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि प्लस टु सम्म १३० जना विद्यार्थीहरुले पठन पाठन गर्दै आएका छन् ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधि पारश बजगाँई, समाजसेवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
देशको केन्द्रीय राजधानीबाट नजिक रहेर पनि विकट रहेको विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दा उनीहरुको अनुहारमा आएको खुसीले आनन्द अनुभुति भएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
स्थापनको छोटो समयमा नै रक्तदान, आँखा शिविर, बाढी पीडितको घर निर्माण, दुर्गम ठाँउमा अस्पताल निर्माण, स्कुलमा न्यानो कपडा वितरण लगायतका मानवीय सेवाको कार्य गर्दै आएको सदभाव युवा समाज नागरिकको मनमा बस्न प्रयत्नशिल छ ।