काठमाडौ । नेपालबारे जानकार प्राध्यापक एसडी मुनीले सिमाका बिषयमा उठेका कुराहरुले नेपाल भारत सम्बन्धलाई प्रभावित नबनाउने बताएका छन् ।


ADVERTISEMENT


सीमा विवादलाई उग्र राष्ट्रियताको विषय बनाउन नहुने बताउँदै उनले संकुचित राष्ट्रवादले कुनै देशको भलो नगरेको इतिहास कोट्याउँदै यसमा दुवै देश सचेत हुनुपर्ने समेत बताएका छन् । छलफलबाटै समस्याको समाधान निकाल्न समेत उनको सुझाव छ । उनले कालापानीलाई उत्तेजना र मनोरञ्जनको विषय बनाउने काम राम्रो नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नयाँ दिल्लीको एक कार्यक्रममा बोल्दै प्राध्यापक मुनीले प्रधानमन्त्रीस्तरमै सीधा सम्वाद हुने आजको कूटनीतिक अभ्यासमा कुनै विषयमा विज्ञ या रिटायर्ड अधिकारीले के बोल्छ भन्ने कुरालाई सम्बन्धको आधार बनाउन नहुने बताए ।

छिमेकी देशहरु बिच सीमाका बिषयहरु उठ्नु स्वभाविक रहेको बताउँदै नेपालका लागि भारतका पूर्वराजदूत रञ्जीत रेले अब पूरै दक्षिण एसिया आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । अब गरिब भएर बस्नुको कुनै कारण नभएको हुँदा आर्थिक कुटनीतिमा नै ध्यान दिनुपर्नेमा उनको जोड छ । पूर्वराजदूत जयन्त प्रसादले समेत नेपाल भारत सम्बन्धलाई बहुआयामिक बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउँदै देखिने सामान्य समस्याहरुको कुटनीतिक तहबाट हल हुन सक्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै राजदूत नीलाम्बर आचार्यले नेपाल भारत सम्बन्ध ऐतिहासिक र पुरानो रहेको बताए । तर, ऐतिहासिक सम्बन्धलाई मात्र फोकस गरेर नपुग्ने भन्दै राजदूत आचार्यले नेपाल भारत सम्बन्धका नयाँ विकसित सम्बन्धहरुलाई समेत सम्वोधन गरेर अघि बढ्नुपर्ने बताए ।

‘बदलिँदो परिप्रेक्षमा नेपाल–भारत सम्बन्धका आयामहरू’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा दुबै देशका बिज्ञहरुको सहभागिता रहेको थियो ।