काठमाडौँ – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल)को प्लेअफमा प्रवेश गरेको छ । आईतबार विराटनगर टाइटान्सलाई १८ रनले हराउँदै चितवन लगातार दोस्रो पटक प्लेअफमा पुगेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १४६ रन बनायो । १४७ रनको लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्रै बनायो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि लोकेश बमले आक्रामक ब्याटिङ गरेपनि टिमलाई जिताउन सकेनन् । आठौँ नम्बरमा आएका उनले ३६ बलमा नै ६२ रनको योगदान दिए । त्यसक्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे । त्यसअघि विराटनगरका लागि पुनित मेहराले २४ र नोमान खानले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

पोखराको इनिङ ध्वस्त पार्ने क्रममा भुवन कार्की र करण केसीले शानदार बलिङ गरे । भुवनले ३ ओभरमा १४ रन मात्रै दिएर ३ विकेट चट्काए । यस्तै करणले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । रोहन मुस्ताफाले २ तथा सन्नी पटेलका नाममा १ विकेट रह्यो ।

यसअघि चितवनका लागि आरिफ शेखले सर्वाधिक ३९ रन बनाए । नटआउट रहेका उनले २२ बलमा ३ चौका र २ छक्का हाने । आरिफले सन्नी पटेलसंग १६ बलमा नै शानदार ५१ रनको साझेदारी गरे । सन्नीले ८ बलमा ३ छक्का र १ चौका प्रहार गरे । यस्तै पारस खड्काले ३५ र बाबर हायातले २५ रन जोडे । रोहन मुस्ताफा १६ रनमा आउट भए ।

विराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो, पुनित महरा र मोहम्मद जियाद आलमले समान १-१ विकेट लिए । आजै अर्को खेल बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजबीच हुँदैछ । धनगढीले टस हारेर ब्याटिङ गरिरहेको छ ।

चितवन यसअघि प्रहिलो संस्करणमा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनसंग फाइनलमा पराजित भएको थियो ।