विराटनगर  । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को बुधबार स्वागत गर्दै भव्य उद्घाटन गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा तामझामका साथ भ्रमण वर्षको उद्घाटन गरिएको हो ।


ADVERTISEMENT


भ्रमण वर्षको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले पाँच लाख पर्यटक भित्र्याउने र त्यसबाट प्रदेशको आर्थिक गतिविधिमा बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राईले पर्यटन क्षेत्रबाट हाल कायम रहेको एक दशमलव ९३ प्रतिशतको कुल ग्राहस्थ उत्पादनको योगदान पाँच वर्षभित्र ५ प्रतिशतमा पुर्याउने उद्घोष गरेका छन् । पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा ३२ हजारले पाइरहेको रोजगारी बृद्धि भएर तेब्बर पुर्याउने उनले बताए ।

मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकासका लागि संघीय र स्थानीय सरकार, निजी क्षेत्र र गैर सरकारी क्षेत्रसँग सहकार्य गरिने बताए । पर्यटन क्षेत्रबाटै प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने मद्दत पुग्ने भन्दै उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन आग्रह गरेका छन् ।

उनले नाम्चे–चौरीखर्क–दूधकुण्ड केवलकार, धरान–भेडेटार केवलकार, केचना–सगरमाथा फास्ट ट्रयाक, भेडेटार स्काई वाक, मुन्धुम ट्रेल मार्ग, हिमालयन पदमार्ग, होमस्टे निर्माण, चतरा–दोलालघाट र तुम्लिङ्गटार जलमार्ग जस्ता परियोजनालाई प्रदेश सरकारले रुपान्तरणकारी परियोजनाका रुपमा अघि बढाएको जानकारी दिए ।

मुख्यमन्त्री राईले पर्यटन प्रवद्र्धनकै लागि सगरमाथा दिवसको अवसर पारेर आगामी मे महिनामा सगरमाथाको आरोहण गरेका राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्वतारोहीको सहभागितामा ‘समिटर्स समिट’ आयोजना गर्न लागेको बताए । त्यसबाट प्रदेश १ लाई विश्वमा चिनाउन थप मद्दत पुग्ने मुख्यमन्त्री राईले धारणा व्यक्त गरे ।

भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ बाट राष्ट्रिय योगदान र पहिचान बनाउन सफल भएका आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने कामिरिता शेर्पा, मिस एसिया युनिभर्स २०१७ लगायतका विभिन्न सौन्दर्य प्रतियोगितामा प्रथम भएकी धरानकी पिङ्की राजगरिया, कलाकारिता क्षेत्रबाट प्रदेशलाई चिनाउने दिपाश्री निरौला, नेपालकै सवैभन्दा अग्ला व्यक्ति सुनसरी निवासी राजन अधिकारी, सहासिक खेलबाट विश्वमा नेपाललाई चिनाउने मीरा राई, आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने संखुवासभाका सानु शेर्पालाई सम्मान गरिएको थियो ।

विशेष तामझामका साथ गरिएको भ्रमण वर्षको उद्घाटन स्थल सहिद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । भ्रमण वर्षको प्रचार प्रसारका लागि बेलुन उडान र साँस्कृतिक टोलीहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

विराटनगरकै गायक सुमित खड्का र गायिका प्राश्ना शाक्यले गाएको प्रदेश १ को भ्रमण वर्ष झल्काउने गीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । त्यसैगरी दक्षिणी सिमावर्ती भारतीय नागरिकहरूको मैथिली भाषासम्बन्धी गीत पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले मार्चपास गरे । विभिन्न जिल्लाबाट सहभागी भएका जातजाती, समुदाय र विद्यालयहरूले जिल्लाको साँस्कृतिक पहिचान झल्किने झाँकी प्रदर्शन गरेका थिए ।

विदेशी पर्यटकहरूलाई लोभ्याउने प्रमुख स्थलहरूको प्रचार प्रसारका लागि प्रदेशका १४ वटै जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरू समेटिएको जिल्लागत प्रदर्शनीले उद्घाटन समारोहको रौनक बढाएको मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फडिन्द्र अधिकारीले बताए ।

कार्यक्रममा अन्तरप्रदेश पर्यटन व्यवसायी राजु बासुले भ्रमण वर्षले ग्रामीण पर्यटनको सम्भावनाको ढोका खोलेको बताए । उनले यही मौकामा नेपालले आफूलाई एसियाली क्षेत्रमा अझ राम्रोसँग चिनाउने अवसर प्राप्त गर्ने पनि दाबी गरे ।

बासुले भारत र नेपालका शक्तिपीठहरूलाई जोडेर शक्ति फेस्टिभल, सिमसार क्षेत्रलाई समेटर वेटल्याण्ड फेस्टिभल र चिया क्षेत्रलाई जोडेर टी फेस्टिभल गर्न सकिने बारे सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रदेशस्तरीय पर्यटन प्रवर्धन समितिका संयोजक समेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले प्रमुख पर्यटकीय स्थलका रुपमा चिनिएका बराह क्षेत्र, हलेसी, पाथीभरा जस्ता ठूला धार्मिक तीर्थस्थल, भेडेटार, नाम्जे, सन्दकपुर, श्रीअन्तु, तीनजुरे–मिल्के–जलजले, कन्याम, सभापोखरी, नाम्चे–दूधकुण्ड, सिलिचुङ साल्पा पोखरी, पत्ताले जस्ता प्राकृतिक स्थलहरूको प्रवद्र्धनमा वार्षिक कार्यक्रम घोषणा गरिने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए ।