– कृष्णबहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत (सीईओ), नेपाल बैंक लिमिटेड


ADVERTISEMENT


नेपाल बैँकलाई कुन रफ्तारमा अगाडि बढाइरहनु भएको छ ?


ADVERTISEMENT

# # #


हाम्रो आफ्नै रफ्तार छ । नियमित गर्नुपर्ने कामहरु समयमै सम्पन्न गरिरहेका छौँ । यदि परिणामको कुरा गर्नुभएको हो भने नेपाल बैँकको गति राम्रो छ । १०० अर्बको कर्जा, ११४ अर्बको निक्षेप हामीसंग छ । नाफालाई मात्रै पहिलो प्राथमिकतामा नराख्ने भएकाले हुनसक्छ, त्यसमा हामी अलि तल नै छौँ । गत वर्षको भन्दा यो वर्षको नाफामा अलिकति संकुचन पनि आएको छ । आधार व्याज दर (बेस रेट) हाम्रो तल नै छ । एनपीएल अर्थात नन पर्फमिङ लोनको हिसाबले पनि हामी मध्यम वर्गमै छौँ । पुँजी पर्याप्तताको पक्षबाट सवल र स्वस्थ छ ।

हाम्रो आफ्नै पद्धती, संस्कार र गति छ । हामी अरु कसरी हिंडिरहेका छन् भन्दा पनि कसरी हिंड्दा हाम्रो बैँक दीगो हुन्छ, सर्वसाधारणको विश्वासलाई अझ कसरी सुदृढ बनाउन सकिन्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ ।

बैँकको नेतृत्वमा आइसकेपछि के के कामहरुमा अर्जुनदृष्टि राख्नुभएको छ ?

प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको तीन महिना भयो । तर, सीइओकै कार्यभार सम्हालेको (कायममुकायम सहित) ९ महीना भयो । म आइसकेपछि सर्वप्रथम हाम्रो आन्तरिक ‘मेकानिज्म’लाई सुदृढ बनाउनु पर्छ भन्ने हिसाबमा नै लागियो । कर्मचारी द्विविधामा नपर्ने गरी र कार्य प्रणाली एकै किसिमको हुनुपर्छ भन्ने हिसाबले नीति परिवर्तन गर्नतिर लागियो । १४–१५ वर्ष अघि बनाइएका नीतिहरु पनि लागू हुँदै आइरहेका थिए । अहिलेसम्म हामीहरुले १२ वटा नीतिहरु परिमार्जन गरिसकेका छौँ ।

केही नीति परिमार्जन र निर्माणको क्रममा छन् । अहिले सम्पूर्ण बैकिङ्ग प्रणाली भनेको प्रविधिमा आधारित हुन्छ । प्रविधिलाई कसरी बढोत्तरी गर्न सकिन्छ भन्ने कुरामा हामी लागेका छौँ । छिटो, छरितो र प्रभावकारी कामका लागि बैँकको संगठनात्मक संरचनामा केही हेरफेर गर्दैछौँ । यी कुराहरुलाई राम्रोसंग व्यवस्थित गर्न सकियो भने त्यसका प्रभावले धेरै सकारात्मक परिवर्तन ल्याउँछ ।

नेपाल बैँकसंग जनताहरु जोडिनका लागि समस्या छ र ?

अहिले नेपाल बैँकको सेवा बैकिङ्ग क्षेत्रमा उच्च किसिमको छ । तर,

जनमानसमा ‘सरकारी बैँक हो, सेवा पनि त्यस्तै हुन्छ’ भन्ने किसिमको रहेको हामी सुन्छौँ । तर, त्यस्तो होइन । नेपाल बैँकमा प्रवेश गरेका ग्राहकका माध्यमबाट नै त्यो धारणा परिवर्तन हुनेगरी हामी काम गरिरहेका छौँ ।

नेपाल बैँकमा प्रवेश गर्ने कर्मचारीहरुले फलामको च्यूरा चपाए जसरी प्रक्रिया पार गरेर आएका हुन्छन् । विदेशमा पढेका र नेपालका पनि उत्कृष्ट कर्मचारी यहाँ छन् । कर्मचारीको बैँकप्रतिको समर्पणको भाव उच्च भएको हुनाले हाम्रा सबै कर्मचारी र बैँकका सेवाहरु ग्राहक सेवामा समर्पित छन् । जसले बैँकलाई उचाईंमा पुर्याउन ठूलो टेवा पुग्नेछ ।

ग्राहकहरुलाई आफ्नोमा तान्नका लागि बैँकहरुबीच बिभिन्न आकर्षणको प्रतिस्पर्धा पनि देखिन्छ । यसमा नेपाल बैँकले त्यति ध्यान नदिएको हो ?

हामी सस्तो ‘माकेर्टिङ’मा जाँदैनौँ । हाम्रो आफ्नै पद्धति र संस्कार छ । अरु बैँकले दिने सेवा नेपाल बैँकले नदिने भन्ने छैन । परम्परागत बैकिङ्ग प्रणालीदेखि लिएर अहिलेको ‘मोर्डन’ प्रविधिमैत्री उत्पादनहरु हामीले दिएका छौँ । नेपाल बैँकको आकर्षण भनेको निक्षेप ग्राहकहरुले पनि उच्चतम प्रतिफल पाउनुपर्छ भन्ने हिसाबले हामीले उहाँहरुलाई उच्चतम ब्याज दिएका छौँ । उरु बैँकले दिने ब्याजदरको भन्दा नेपाल बैँकले एक प्रतिशत कम ब्याज दिएपनि नेपाल बैँकप्रतिको जनविश्वास घट्दैन । तर पनि हामीले उच्चतम ब्याज दिएका छौँ ।

कर्जाको कुरा गर्नुपर्दा सबैभन्दा सस्तो ब्याजदर लिने बैँक नेपाल बैँक हो ।

नाफा बढी कमाउने उद्देश्य नै भएको भए एक खर्बको ऋणमा एक प्रतिशत ब्याजदर बढाउने बित्तिकै एक अर्ब नाफा बढ्छ । त्यो एक प्रतिशत बढाउँदा पनि हामी अन्य बैँकको भन्दा सस्तो नै हुन्छौँ । नाफा बैंकको लागि अपरिहार्य छ तर उचित मात्रामा मात्र भए दिगो हुने विश्वास गर्दछौ । हाम्रो उद्देश्य नै कर्जामा न्यूनतम ब्याज र डिपोजिटमा उच्चतम ब्याज हो ।

देश र जनताका लागि सरकारी बैंकको दायित्व अन्य बैंकको भन्दा फरक के हुन्छ ?

सरकारी र निजी बैँकबीच भिन्नता के हुन्छ भने निजी बैँकहरु नाफामा धेरै केन्द्रित हुन्छन् । शेयर धनीहरुको पनि दबाब हुन्छ कि उनीहरुले नाफाका लागि लगानी गरेका हुन्छन् । तर, हाम्रोमा सरकारको प्रमुख स्वामित्व रहेको कारणले सरकारको नीति नियमहरु पालना गर्दै, सर्वसाधारणहरुलाई सेवा पुर्याउँदै शेयरधनीको पनि केही आकांक्षा पूरा गर्नुपर्ने हुन्छ ।

हामी नेपालकै पहिलो बैँक हो । अझ नेपाल बैंक भनेर देशकै नाम हामीसँग जोडिएको छ । त्यसकारण सेवा र व्यापारलाई सन्तुलित बनाउँदै राज्यका नीति नियमहरुलाई कार्यान्वयनका लागि नेतृत्व दिनु नेपाल बैँकको दायित्व हो । हामी बैँकको उत्तरदायी भूमिकामा विश्वास गर्छौँ ।

विकास र समृद्धिको यात्रामा नेपाल बैँकले के भूमिका खेल्छ ?

व्यवसायहरु नेपालमै विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । जस्तो पर्यटन, कृषि, जलविद्युतको क्षेत्र लगायतका जे जे सम्भावनाहरु छन्, तिनलाई विकास गरियो भने रोजगारीको पनि अवसर सिर्जना हुन्छ । राज्यलाई राजश्व पनि यहीँबाट आउँछ, व्यवसाय बढ्छ । यहाँको जनशक्ति, कच्चा पदार्थ खपत हुनेगरी गर्नुपर्छ भन्ने हिसाबले हामीले ठूला भन्दा साना व्यापारीहरुलाई सहयोग बढाउने भन्ने हिसाबले लागेका छौँ । जसले गर्दा देशको आर्थिक समृद्धि अर्थात् अहिलेको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’सफल पार्नका लागि यहाँ भएको जनशक्तिलाई प्रयोग गर्नुपर्यो र यहाँ भएका स्रोतसाधनलाई परिचालन गनुपर्यो । यि बिषयहरुमा बैंकले संधै साथ दिन्छ ।

आफ्नो कार्यकालभरीमा नेपाल बैँकलाई कहाँसम्म पुर्याउँछु भन्ने लक्ष्य राख्नुभएको छ ?

मैँले नेपाल बैँकलाई संस्थागत सुशासन कायम गर्दै एउटा सक्षम, स्वस्थ र सुदृढ भएको परिकल्पना गर्दछु । व्यवसाय बृद्धिमा हाम्रो आन्तरिक लक्ष्य छ ।

आन्तरिक लक्ष्य पूरा गर्दा गर्दै हामी २७ औँ भयौँ भने पनि खुसी हुन्छौँ । अरुले राम्रो गर्नु भनेको देशको अर्थतन्त्र राम्रो हुनु हो नि ! तर, हाम्रो लक्ष्य पूरा नभएर पनि हामी पहिलो भयौँ भने के मजा भयो र ?

उसो भए बैँकको लक्ष्य के हो त ?

वि. सं. २०७६ असार मसान्तसम्म भएका जतिपनि तथ्याङ्कहरु छन्, अबको चार वर्षमा त्यो दोब्बर हुनेछन् । यति पूरा भए नेपाल बैँक २७ औँ भएपनि हामी खुसी हुनेछौँ । त्यतीखेर राज्यले जितेको हुनेछ । हामीले आफ्नो लक्ष्य पूरा नगरी पहिलो भइयो भने त आनन्द आउँदैन ! त्यस हिसाबले हामी रकमको आधारमा पहिलो वा दोस्रोको दौडमा छैनौँ ।

यस्तै हाम्रो प्रविधिलाई हामी बलियो बनाउनेछौँ । त्यसका लागि लगानीमा हामी हिच्किचाउने छैनौँ ।

यो सबै नेपालीहरुको बैंक हो भन्ने भावना जगाउँछौँ । त्यसका लागि हाम्रो सेवालाई गुणस्तरीय बनाउनेछौँ । त्यस हिसाबले आगामी चार वर्षमा नेपाल बैँक अन्य बैँकका लागि नैतिक र व्यवहारिक प्रेरणा लिने किसिमको बैँक बन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

बैँकका सबै साथीहरु योग्य र दक्ष्य हुनुहुन्छ । उहाँहरुबाट आफ्नो क्षमताको भरपुर सदुपयोग हुदा नेपाल बैँकलाई अगाडि बढाउन कुनै समस्या हुँदैन । ग्राहकको आर्थिक उन्नतीका लागि हामी सधैँ समर्पित हुनेछौँ । हामी निक्षेपकर्ताहरुलाई उचित प्रतिफल दिने र कर्जाका ग्राहकलाई पनि उचित ब्याजदरमा रकम उपलब्ध गराउँछौँ । त्यसका लागि तपाईहरुको माया र विश्वासको अपेक्षा गर्छौँ ।