नारीले नारीलाई नै दबाउँछ तर नारी जति नै दोषी भए पनि पुरुषप्रति आडम्बर देखाउँछ भन्ने उक्त कविताको आमा पात्रले चित्रित गरिदिन्छिन् । त्यो दिन बन्द कोठाभित्र मुर्झाएर कथित मर्द आफ्नै वीर्यमाथि लतपतिएकै हो तर, जब कोठाको झ्यालढोका खोलिए उज्यालो छिर्यो अँध्यारो कोठामा र, बतास ह्वात्तै बाहिरियो झ्यालबाट वीर्यको गन्ध र परीको चरित्र बोकेर छिनमै बतास यसरी फैलियो की चोकको चिया पसल, डाँडाको चौतारो हुँदै पुग्नुपर्ने ठाउँ पनि पुग्यो नपुग्नु पर्ने ठाउँ पनि पुग्यो कोठाको झ्याल खुले । बतासमात्रै उडेन । उड्यो त त्यो चरित्र सबै । आमाकोमा पुग्यो तर । कलङ्कित भइन ती नारी । नक्कचरी बनिन् । मर्द, मर्द नै रह्यो । हावा त हावा नै हो बेपर्वाह उड्दैउड्दै गयो जतातता एकदिन ठोक्कियो मर्दकै आमाको कानमा आक्रोशित भइन् आमा र भनिन् ‘त्यो नक्कचरी…!’
फेरि शान्त भइन् र भनिन् ‘छोरा चिन्ता नगर, नडरा यो हावासँग, तँ छोरा होस् ।’ उनको कविता वाचनको शृङ्खला सकियो । त्यो हल तररर… तालीले गुञ्जियो । धेरै उभिएरै कविता सुनिरहेका थिए । स्रोताको मनमा समाजको विकृत चित्र कोरियो । समाजमा यस्ता बतास चलिरहेकै छ । आखिर भागिदार समान भए पनि नारीले समाज नामको कलङ्क बोकिरहँदा त्यो पुरुष चोखिन्छ । जीवन धान्ने महत्वपूर्ण चिज गाँस, बास, कपास अनि सहवास । दुरुपयोगले उठाउँछ घरबास भन्ने उदाहरण पनि हो कविता । कवयत्री तुम्खेवा भन्छिन्, “समाजमा आमाले पनि छोराको गल्तीलाई ढाक्छिन्, तर छोरीलाई छोरीको सम्बन्धलाई खत्तमै भयो भन्ने असमान सोचाइ हुन्छ ।” महिला दूषित हुन्छ भने पुरुष पनि दूषित हुनुपर्छ, कविताले भन्न खोजेको यही हो । सशक्त भएकै कारण यसपाली यही कविता उत्कृष्ट हुँदै पुरस्कार पायो ।
शक्तिशाली कविताको सङ्ज्ञा दिँदै अग्रज कवि तुलसी दिवस भन्छन्, “चेतनाको विकासमा कविले कविताको सदुपयोग गरेका छन्, कविता लेखनमा संलग्न महिलाहरु अस्तित्व संरक्षणमा सचेत भएको पाएको छु ।” कविताको शक्ति देखाउने बेला आएको भन्दै उनले एउटा कविताले पनि कविलाई स्थापित गराउँछ भन्ने उदाहरण यही कार्यक्रम हो भने । जसरी तुम्खेवालाई स्थापित गराइदिएको छ । कविताले साताको साहित्य डटकमबाट रु २० हजार पुरस्कार प्राप्त गरेको छ । यसका कार्यकारी सम्पादक कवि सुमन घिमिरेले धेरै लेखिने र कम पढिने विधा कविता भएकाले पुरस्कार स्थापना गरेर कवि र कविताको गरिमा बढाउने प्रयास थालिएकोे बताए। पुरस्कारका लागि यसपाली तीन रचना छनोट भएका थिए ।
गीता पुडासैनीको कविता ‘बाल– विधवा’ र रुपक वनवासीको गजललाई जितेर ‘वीर्यको बतास’ले बाजी मार्यो । पहिलो चोटी यसरी पुरस्कृत भएको विज्ञप्ति सार्वजनिक हुँदा तुम्खेवा मलेसियामा थिइन् । उनले विगतमा पुरकारका लागि भनसुनको चलन थाहा पाएका थिइन्। छक्क पर्दै भनिन्, “मैले चाहिँ पुरस्कारका लागि कविता लेखिन, आफूले लेखेका कविता मलाई कहिल्यै मन परेन, कसरी पुरस्कार पाएँँ होला भन्ने लाग्छ ।” जीवनकै पहिलो पुरस्कार भएको बताउने तुम्खेवा कवितासङ्ग्रह निकाल्ने तयारीमा रहेको बताउँछिन् । हरेक साता उत्कृष्ट कविता प्रकाशन गर्ने साताको साहित्य डटकमले नजिर स्थापित गर्दै एउटा कविताको रु ५०० पारिश्रमिक दिनेगर्छ ।
सम्पादक निष्प्रभ सजी सानैदेखि कविता मन पर्ने भएकाले कवितासँग जोडिरहनका लागि सानो सोचबाट अनलाइनमार्फत कविताको महत्व बुझाउने कोशिस गरेको प्रतिक्रिया दिन्छन् ।
यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलीया, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचना पुरस्कृति भइसकेको छ । रासस