काठमाडौँ – पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो ।


ADVERTISEMENT


नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।


ADVERTISEMENT

# # #


त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन् ।

“उनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै मङ्गलबार नै सकिएको छ, आज साँझ उनीहरुलाई फिर्ता पठाइन्छ”, विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले रासससँग भने। उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ । उनीहरुलाई अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको हो । ऐनमा कसुरको प्रकृतिअनुसार रु ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ । उनीहरुलाई आज ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ । आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ । प्राप्त जानकारीअनुसार एउटामा ४२ र अर्को विमानमा ८० जना जानेछन् ।

चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैधरुपमा सङ्गठित काम गरेका थिए । उक्त काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौँका प्रजिअ दाहालले बताए । रासस