– डा. लोकराज बराल


ADVERTISEMENT


केही समय पहिले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग राख्यो भनेर ठूलै होहल्ला भयो । भारतले नेपालको भूभाग मिचिएको छैन भन्दैगर्दा पनि विभिन्न पार्टीका संगठनले सडक तताए । परराष्ट्र मन्त्रालयले पनि लिम्पियाधुरासम्मको भुभाग नेपालकै हो भनेर विज्ञप्ती निकाल्यो । यसले गर्दा नेपाल र भारतको सम्बन्धमा दरार पैदा हुने थुप्रैको आशंका थियो । तर, यो विषय अहिले गुमनाम भएको छ ।


ADVERTISEMENT

# # #


हल्ला गरेर सडक तताएर केही हुँदोरैनछ भन्ने कुरा त देखिहालियो ।हामी यस्ता कुराहरुमा चुक्दै आएका छौँ । यस्ता मुद्दाहरुमा ‘शान्त कुटनीति’को प्रयोग गर्नुपर्छ । त्यही अनुसार आफ्ना हित अनुकुल पार्नुपर्छ । भारत सबैभन्दा निकट छिमेकी देश हो । सानातिना विषयहरु उचालिए पनि यी दुई देशबीचको सम्बन्ध बेजोड छ । एकअर्काका लागि परिपूरक छ । भारत ठूलो भएकाले यहाँ जतिसुकै हो–हल्ला भएपनि त्यसले हिन्दुस्थानमा त्यती ठूलो प्रभाव पार्दैन ।

काठमाडौँमा बसेर पत्रिकामा लेख छापेर राष्ट्रवादी भएर मात्रै हुँदैन । ‘ग्राउन्ड रियालिटी’मा के छ भन्ने कुराको पनि जानकारी लिनुपर्छ । जनता–जनताबीचको सम्बन्ध कस्तो छ थाहा पाउनुपर्छ । भारतसँगको सम्बन्ध नेपालको हित अनुसार अगाडि बढाउनुपर्छ । नेपालको सम्प्रभूतामा सम्झौता हुनसक्दैन । तर, परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने, उग्र राष्ट्रवाद, उत्ताउलो राष्ट्रवादले केही गर्न सकिँन्न । मैँले यी समग्र कुराहरुको ५० वर्षदेखि अध्ययन गर्दै आएको छु । राष्ट्रवाद अहिले भन्दा उहिले झन् उग्र थियो । १९५० को असमान सन्धि खारेज गर, गोरखा भर्ती केन्द्र बन्द गर भन्थे । कति सरकार आए । खोइ त के भयो त ? भन्न खोजेको के हो भने परराष्ट्र नीति नाराबाजीले चल्दैन । सबैभन्दा पहिलो कुरा दुई मुलुकको वास्तिविकता बुझ्नुपर्यो ।

लेखकबाट थप
 – नेपालको अपरिपक्व कुटनीति !
– ‘जम्पिङ’ राजनीतिले कहाँ पुगिएला ?

सस्ता नारामा प्रतिस्पर्धा गर्नु राष्ट्रियता होइन । भरतविरोधी हुनु भनेको राष्ट्रियता होइन । राष्ट्रियता भनेको देशको हितमा बोल्ने मात्रै होइन, जनताको उत्थानका लागि लाग्नु पनि हो । गरिबी निवारण कसरी हुन्छ ? आर्थिक विकास कसरी हुन्छ ? त्यसमा लाग्नु पनि राष्ट्रियता हो । जनता बलियो भए भने राष्ट्र आफै बलियो हुन्छ ।

अर्को कुरा भारतसँग नेपालको सम्बन्ध राम्रो हुनुपर्छ भनेर चीनले पनि बुझेको छ । विपीलाई माओत्सेतुङले पनि त्यही भन्नुभएको थियो । किनभने उसले पनि बुझेको छ कि हामी भारतसँग धार्मिक, सामाजिक, सांस्कृतिक, व्यक्तिगत र राजनीतिक रुपमा पनि हामी नचाहेर पनि नजिक हुनुपर्ने अवस्था छ । लोकतन्त्रको कुरा नेपालमा भारतबाटै आएको हो । भलै भारतले बेलायतलाई पच्छ्याएको होस् । उदारवादी लोकतन्त्र चीनबाट त आएको होइन ? चीनबाट आएको साम्यवाद अहिले कहाँ पुगेको छ ? साम्यवादको नारा लगाउनेहरु नै अहिले संसदीय व्यवस्थाको हिलोमा आहाल खेलिरहेका छन् । उग्र माओवादको नारा बोकेको प्रचण्ड अहिले कहाँ छन् ?

राजनीतिदेखि, सामाजिक, सांस्कृतिक र आर्थिक हरेक क्षेत्रमा हामी भारतसँग जोडिएकै छौँ । यो कुरा बुझ्न आवश्यक छ कि नेपालका लागि भारतसँगको सम्बन्धलाई स्थानान्तरण गर्ने अर्को कुनै देश छैन । जतिसुकै अन्य देशसँगको बाटो खोलेपनि आखिरि ‘ग्राउन्ड रियालिटी’ त्यही हो । भूगोलले पनि हामीलाई त्यस्तै बनाइदिएको छ । तर, हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राख्नुपर्छ । नेपाल–भारत सम्बन्ध कस्तो हुने ? नेपाल–चीन सम्बन्ध कस्तो हुने भनेर प्रयाप्त अध्ययन, अनुसन्धान हुनुपर्छ । अहिले बीआरआई, बीआरआई भनिन्छ । चीनले खर्बौँ रुपैयाँ लगानी गरेर नेपालमा यत्तिकै रेल ल्याउँदैन । उसको पनि स्वार्थ हुन्छ । बाटो दुबै देशतिर खोल्नुपर्छ । अहिलेको जमानामा भारतमात्रै भनेर चीनलाई रोक्ने काम राम्रो हुन्न । चीनसँग पनि सहकार्य गर्नैपर्छ । यसमा हामीले भारतीय नभई नेपाली आँखाले हेर्नुपर्छ ।

त्यसका लागि चुस्त र बलियो सरकार चाहिन्छ । त्यही अनुसारको ‘मेकानिज्म’ चाहिन्छ । यो कुराको नेपालमा अभाव देखिएको छ । नेपाल-भारत सम्बन्धमा वस्तुगत आधारमा चिन्तन हुनुपर्छ । त्यही अनुसार हामीले आफ्नो रणनीति चीन र भारतसँग कसरी डिल गर्ने भन्ने कुराको निर्क्योल हुनुपर्छ । तर, त्यो कुरा खुला र पारदर्शी रुपमा गरिनुपर्छ ।