भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स एशोसिएसन एवं सीईओ सानिमा बैंक

सानिमा बैँकले आफ्नो गतिविधि कसरी सञ्चालन गरिरहेको छ ?


ADVERTISEMENT


 # #


कतिपय बैँकहरु आक्रामक भएका छन् । तर, हामी आफ्नै गतिमा छौँ । शाखा विस्तारमा अन्य बैँकको तुलनामा हामी सुस्त नै छौँ । अहिले २७ वटा वाणिज्य बैँक छन् । त्यसमध्ये शाखा विस्तारको हिसाबले हामी अन्तिमबाट तेस्रो छौँ । अर्थात् हामीभन्दा तल दुई वटा बैँक मात्रै छन् । तर,

गुणस्तरमा हेर्नुभयो हामी उत्कृष्ट मध्येको एकमा छौँ । थोरै शाखा तर, एकदमै व्यवस्थित भन्ने हाम्रो रणनीति छ । कसैले शाखा विस्तारमा ध्यान दिन्छन् भने कसैले गुणस्तरमा । हामी सेवाको गुणस्तरमा ध्यान दिइरहेका छौँ । अन्य कुरामा पनि हामी उत्कृष्ट नै छौँ । हामी जे छौँ, त्यसमा खुसी छौँ ।

उसो भए, सानिमा बैँकको बलियो पक्ष के हो ?

हामी सम्पत्ति र दायित्व व्यवस्थापन (Asset and liability management) बैकिङ्गमा लागेका छौँ । जुन एकदमै महत्वपूर्ण हुन्छ ।जोखिम व्यवस्थापनमा पनि हाम्रो ध्यान गएको छ । लेखापरीक्षणमा हाम्रो निष्क्रिय कर्जा (ननपर्फमिङ लोन) हेर्नुभयो भने विगत ७ वर्षदेखि न्यून छ । कर्पोरेट गभर्नेन्समा हामीले सम्झौता गर्नु हुँदैन भन्नेमा लागेका छौँ । संस्थागत सुशासन राम्रो भयो भने संस्था राम्रो हुने हो । काम गर्दा हुने गल्तीलाई हामी क्षमा गर्छौं, त्यसमा सिकाउँछौँ । तर, नियोजित रुपमा जनताको पैसामा खेलवाड गर्ने वा आँखा लगाउनेमा हामी शून्य सहनशीलताको नीति लागू गर्छौँ ।

त्यसकारण हाम्रो अर्जुनदृष्टि बनेको अन्तराष्ट्रिय बैंकिङ्ग प्रणालीलाई पच्छ्याउँदै ग्राहकको लागि बैँकका सेवा सुविधामा वृद्धि गर्ने हो । अहिलेको जमाना भनेको प्रविधिको जमाना हो । ‘बिग बैकिङ्ग’बाट हामी ‘क्लिक बैंकिङ्ग’मा गएका छौँ । त्यसमा जोड दिनुपर्छ भनेर हामी लागेका छौँ ।

अहिले ग्राहक तान्नका लागि बैँकहरुबीच विभिन्न किसिमका अफर, सेवा-सुविधाहरु थप्ने प्रतिस्पर्धा चलिरहेको छ । यसमा सानिमा बैँक कहाँ छ ?

बजारमा हेर्नुभयो भने अरु बकैँजस्तै हामी पनि छौँ ।

प्रत्येक दिन नयाँ दिन हो भन्ने अवधारणा अनुसार हामीले पनि केही नयाँ ल्याइरहेका छौँ । बजारमा के चलिरहेको छ र के आवश्यकता छ भन्ने हिसाबले हामी काम गरिरहेका छौँ । थोरै शाखा भएपनि व्यापार वृद्धिका हिसाबले हामी उत्कृष्ट बैँक मध्येका एक हौँ ।

बैँकको आ–आफ्नै रणनीति हुन्छ । ती सबैलाई सम्मान गर्दै, शाखा विस्तारमा जानुहुन्न भन्नेमा हामी लागेका छौँ । सानो बजारमा एउटा बैँक छ, अर्को पनि गएर शाखा खोल्यो भने त्यसले व्यापारमा विभाजन हुन्छ । अन्तिममा सम्पूर्ण अर्थतन्त्रलाई नै घाटा पुर्याउँछ । हामी बजार भएका क्षेत्रमा अन्य बैँकसँग प्रतिस्पर्धा गर्न चाहन्छौँ ।

अहिले सानिमा बैँकका लक्षित ग्राहक समूहहरु को-को हुन् ?

हाम्रो इकोनोमिक र बिजनेस दुबै समूह हुन् । हामीसँग स–साना लघुवित्तको कारोबार गर्नेहरु पनि हुनुहुन्छ । यस्तै कर्पोरेट लोन देखि प्रोजेक्ट फाइनान्ससम्म छन् । हामीसँग माइक्रोफाइनान्स, कृषि, रिटेल लोन, कर्पोरेट र प्रोजेक्ट फाइनान्स लगायतका विभागहरु रहेका छन् । हामीले सबै किसिमका लोनको व्यवस्था गरेका छौँ । साना निक्षेपकर्ताहरु पनि हामीसँग धेरै हुनुहुन्छ । समग्र निक्षेप हेर्नुभयो भने हाम्रो व्यक्तिगत निक्षप नै ६१ प्रतिशत भन्दा बढी छ । राष्ट्र बैँकको संस्थागत निक्षेप त हामीसँग २५–२६ प्रतिशत मात्रै छ । लोन लिनेमा पनि माईक्रोफाईनान्स बित्तीय संस्थाहरु नै अगाडी छन् । ठूला लोन ३५ प्रतिशत मात्रै छन् ।

बैँकहरु डिपोजिटका लागि मेहनत गरिरहेका देखिन्छन् । सानिमा यसमा कत्तिको लागिरहेको छ ?

डिपोजिटको प्रतिस्पर्धा नेपालमा धेरै छ । नेपालमा डिपोजिट ४–५ खर्ब जतिको मात्रै हुन्छ । त्यसमा २७ बैँक छन् । अन्य बैँक तथा वित्तीय संस्थाहरु छन् । यसमा हामी मेहनेत गरिरहेका छौँ ।

तपाईं नेपाल बैंकर्स एशोसिएसनको अध्यक्ष हुनुहुन्छ । कस्तो चल्दैछ नयाँ कार्यकाल ?

दक्षिण एशियाको बैकिङ्ग क्षेत्रमा अहिले पनि हामी उत्कृष्ट छौँ । ‘क्यामल्स रेटिङ्ग’मा हेर्नुभयो भने नेपालको बैँकिङ्गको अवस्था एकदमै राम्रो छ । राम्रो भन्नुको मतलब हामीले सय पूर्णांकमा सय नै प्राप्त गरेका छौँ भन्ने होइन । तर, हामी ‘डिस्टिङ्सन’मा अवश्य छौँ । केही कमीकमजोरी छन् । त्यसलाई अवश्य सुधार्दै अगाडि बढ्नुपर्छ । म अध्यक्ष भइसकेपछि बैँकर्स एशोसिसनको पहिलो बैठकमै हामीले तीन वटा कमिटि गठन गरेर काम थालेका छौं । जसमध्ये बैँकिङ्ग क्षेत्रमा देखिएका समस्याको मिलेर सामना गर्ने र अवसर पनि सबैले समान रुपमा प्राप्त गर्नेगरी काम गर्नका लागि नेपाल एसबीआई बैँकका सीइओ अनुकुल भट्नागरको अध्यक्षतामा एउटा कमिटि गठन गरेका छौँ ।

अहिले बैँकलाई बढी नाफा कमाए भन्ने आरोप लागेको छ । तर, तथ्याङ्कले १०० रुपैया लगानी गर्दा १७ रुपैयाँ भन्दा कम अर्थात १६.८९ रहेको छ । जबकी आजभन्दा ५ वर्ष अगाडि यो नाफा २४ भन्दा बढी थियो । तैपनी अहिले बैँकले ठग्यो, के गर्यो भन्ने आरोप सुन्ने गरिएको छ । दक्षिण एशिया र नेपालका बैंकहरुबीचको नाफामा के अन्तर छ भनेर अध्ययनका लागि कृषि विकास बैँकका सीईओ अनिल उपाध्यायको अध्यक्षतामा अर्को कमिटी बनाएका छौँ ।

अहिले बैकिङ्ग क्षेत्रमा मान्छेहरु आउनै डराउन थाले । के भयो भन्दा बैकिङ्ग कसुर ऐनको गलत प्रयोगको कारणले गर्दा इमान्दार मान्छेहरु पनि कहिले जेल जानु पर्ने हो भनेर डराउनु पर्ने स्थिति रह्यो । बद्मास मान्छेलाई कानुन अनुसार कारबाही गर्नुपर्छ । तर, असल नियतले फाइलमा सही गर्दैमा इमान्दार मान्छे जेल जाने स्थिति अजय दाई (बैँक अफ काठमाडौँका पूर्वसीईओ अजय श्रेष्ठ) को विषयपछि थुप्रै मान्छे त्रसित छन् ।

त्यसकारण अहिलेका ऐन कानुनहरुमा कहाँ, के संशोधन जरुरी छ भनेर अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैँकका सीईओ किरण श्रेष्ठको अध्यक्षतामा कमिटि बनाएका छौँ ।

हाम्रो उदेश्य भनेको बैकिङ्ग क्षेत्र अहिले पनि राम्रो छ । त्यसलाई अझ राम्रो बनाउनका लागि काम गर्ने हो । राष्ट्र बैँकको आचारसंहिता भन्दा पनि बलियो हुनेगरी हामीले आफ्ना आचारसंहिता बनाउँदै छौँ । त्यही अनुसार हामी लागेका छौँ ।

नेपालमा बैँकहरुको चुनौति के देख्नुभएको छ ?

बैँकले अहिले राम्रो काम गरिरहेका छन् । त्यही अनुसार ग्राहकको अपेक्षा पनि स्वभाविक हो। केही समय अघि एटीएमसँग सम्बन्धित केही समस्याहरु भए । विभिन्न बैँक गरेर १–२ करोड नोक्सान भयो । नेपालमा अहिले बैँकको न्यूनतम पूँजी भनेको ११ अर्ब हो । त्यसमा १० लाख, २० लाख वा एक करोड नै तलमाथि भयो भनेपनि त्यो रुघाखोकी लागेको जस्तो हो । हिंड्दाखेरी ठेस लाग्नु स्वभाबिक हो । जति प्रयास गर्दा पनि फाट्टफुट्ट यस्ता घटना भइरहन्छन् । त्यसमा बैँक र ग्राहकले आत्तिहाल्नुपर्ने अवस्था छैन । तर, यसलाई सामान्य रुपमा भने लिनु हुँदैन । आफ्नो प्रविधिलाई अझ बलियो र विश्वसनीय बनाउनका लागि लगानी गर्नपर्छ । त्यो हाम्रो लागि चुनौति छ । यस्तै, अघि भनेजस्तै बैकिङ्ग क्षेत्रमाथि लाग्ने गरेका आरोपलाई चिर्ने चुनौति छ । त्यसका लागि हामीले कमिटी पनि गठन गरेका छौँ । त्यसले काम गर्छ ।

अहिले हामी प्राय सबै ग्रामिण क्षेत्रमा पुगेका छौँ । त्यहाँ शाखा सञ्चालनका लागि नेटवर्किङ्ग लगायतका विभिन्न चुनौती पनि छन् । शाखा विस्तार गर्दा गुणस्तरमा असर पर्ने चुनौति पनि छ । अर्को, राष्ट्र बैँकको ब्याजदर सम्बन्धी सर्कुलरले बैँकको ब्याजदरमा कमी आउने छ ।

अघि भनेजस्तै नाफा १४.७७ प्रतिशतबाट घटेर १०–११ प्रतिशतमा झर्न सक्छ । अब लगानी आउँछ कि आउँदैन भन्ने पीर लागिरहेको छ । बैँक कमजोर हुने हो भने सुशासनमा कमी हुन्छ । त्यसलाई पनि चिर्नुपर्छ ।

तर, नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रणालीको विश्वसनीयता माथि त प्रश्न उठ्यो नि ?

मैँले अघि पनि भनेँ, एटीएम ह्याकिङ्ग फाट्टफुट्ट भइराख्छन् । बाहिरका समाचार हामी त्यती थाहा पाउँदैनौँ । अझ बाहिर ठूला ह्याकिङ्ग भइरहेका हुन्छन् । यसको मतलब यहाँ पनि  ह्याकिङ्ग हुनुपर्छ भन्ने होइन । ‘बिग बैकिङ्ग’बाट ‘क्लिक बैकिङ्ग’मा हामी गएका छौँ भने त्यसको सुरक्षामा ध्यान दिनै पर्छ । प्रत्येक बैँकमा आइएसओ (इन्फरमेसन सेक्युरिटी अफिसर) राखिएका हुन्छ । यसलाई अझ मजबुत बनाउनु पर्छ ।

अन्त्यमा, तपाईका योजनाहरु के के छन् त ?

मैँले गर्नुपर्ने कामहरु गरिसकेँ । अब दुई वर्षपछि नेतृत्व हस्तान्तरण गर्ने हो । ६ वर्ष मैँले सीइओका रुपमा काम गरेँ । बैँक एकदम गतिका साथ दौडिरहेको छ । वाणिज्य बैँकमा हामी ८ वर्ष पनि पुगेका छैनौँ । तर, क्यामेल्स रेटिङ्गमा हेर्नुहुन्छ भने हामी उत्कृष्ट छौँ । हामी पूराना बैँकहरुसँग प्रतिस्पर्धा गरिरहेका छौँ र प्रतिस्पर्धामा पछि छैनौँ । जिन्दगीमा नयाँ नयाँ चिज आइराख्छ । अहिले प्रविधिमा अलि बढी हेर्नुपर्नेछ । बिग बैकिङ्गबाट क्लिक बैकिङ्ग’ मा जानका लागि हामी प्रयासरत छौँ ।

प्रतिकृया

प्रतिकृया