रामचन्द्र पाण्डे, काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वर्ल्डकप लिग २ अन्तरगत काठमाडौँमा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालले ८ विकेटको कीर्तिमानी जित हात पारेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर २६८ बल बाँकी छँदै ५.२ ओभरमा पूरा गरेको हो ।


ADVERTISEMENT


बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिका नेपाली स्पिनरद्वय सन्दीप लामिछाने र सुसन भारीले घातक बलिङमा १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनै समेटियो । ३६ रनको सामान्य चुनौति पच्छ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन ।


ADVERTISEMENT

# # #


नेपालले अमेरिकाविरुद्ध १० विकेटले जित्ने अनुमान गरिएको थियो । तर, २ रन जोड्दा नै नेपालले दुई विकेट गुमाउन पुग्यो । पहिलो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा आउट हँदा सुवास खकुरेल ४ बल खेलेर शून्य रनमै पेवेलियन फर्किए ।

त्यसपछि पूर्वकप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंह ऐरीले खेल जिताएर फर्किए । त्यसक्रममा पारसले १२ बलमा ३ चैका र एक छक्काको मदतमा २० रन बनाएर नटआउट रहे । यस्तै दीपेन्द्रले ११ बलमा दुई चौका र एक छक्काको मदतमा नटआउट १५ रन बनाए ।

अमेरिकाका लागि स्पिनर नोस्तुस केन्जिगेले २ विकेट लिए ।

यसअघि अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

लिग २ अन्तरगत  काठमाडौँमा सम्पन्न नेपाल, अमेरिका र ओमानसम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई जित र दुई हारका साथ चार अंक बटुल्दै सिरिज अन्त्य गरेको छ ।

यता ओमानले चार खेलमा चावटै जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिकाले चार खेलमा चारवटै खेलमा हार व्यहोरेको छ ।

नेपालद्वारा विश्व कीर्तिमान बराबर

अमेरिकाविरुद्धको खेलमा नेपालले विश्वकीर्तिमान कायम गरेको छ । अमेरिका ३५ रनमै अलआउट भएपछि नेपालले एकदिवसीय खेलमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा समेट्ने कीर्तिमान बनाएको हो ।

अमेरिकाको यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई १८ ओभरमा ३५ रन नै बनाउँदा अल आउट गरेको थियो । नेपालले १६ वर्षपछि उक्त कीर्तिमान बराबरी गरेको हो ।

के हो आइसीसी क्रिकेट लिग २ ?

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपकामा प्रवेशका लागि रोडम्यापका रुपमा रहेको लिग २ तीन वर्षसम्म चल्नेछ । जसका लागि नेपाल, स्कटल्याण्ड, युएई, पपुवा न्यूगिनी, अमेरिका, ओमान, नामिबिया गरीसात टिमले एक अर्काविरुद्ध सिरिज खेल्नेछन् । जसमा एउटा टिमले कम्तीमा ३६ खेल खेल्न पाउनेछ ।

जसअन्तगर्त नेपालले लिग २ मा आफ्नो यात्रा घरेलू मैदानमा त्रिकोणात्मक सिरिज आयोजना गरेर सुरुवात गरेको हो । जारी लिग २ मा १० खेल खेलेको ओमान ८ जितमा १६ अंककासाथ शीर्ष स्थानमा रहेको छ । यस्तै अमेरिका १२ खेलमा ६ जित निकाल्दै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्टल्याण्ड तेस्रो, नामिबिया चौथो, युएई पाचौँ र नेपाल छैटौँ स्थानमा रहेको छ । ८ खेलमा ८ हार ब्यहोरेको पपुवा न्यूगिनी अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतियोगिताको अन्त्यसम्म उत्कृष्ट तीन टिम २०२३ को विश्वकपको छनोटमा छानिनेछन् भने अन्तिम चार टिम आइसीसी च्यालेन्ज लिगका उत्कृष्ट दुई टिमसँग प्लेअफ खेलेर उत्कृष्ट दुई भित्र पुगेमा विश्कव छनोटमा छानिनेछन् । आइसीसी सुपर लिगका अन्तिम पाँच टिम, क्रिकेट लिग २ का उत्कृष्ट तीन टिम र आइसीसी प्लेअफका उत्कृष्ट दुई टिम गरी ९ टिमले विश्वकप छनोट खेल्नेछन् । जसका उत्कृष्ट दुई टिम सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोटका लागि छानिनेछन् ।

सुपर लिगमा आइसीसीका टेस्ट मान्यताप्राप्त १२ टिम र सन् २०१५-२०१७ सम्म चल्ने वर्ल्ड क्रिकेट लिगको उत्कृष्ट टिम नेदरल्याण्ड खेल्दैछन् ।