जापानमा कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिकोमृत्यु भएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा सारिएको थियो ।

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ ।

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।

योसँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ ।

यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।