सुर्खेत – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आएका उनले मंगलबार साँझ भेरी नदीको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरीक्षण गरेका हुन् ।


ADVERTISEMENT

# # #


चिप्लेबाट १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पुयाइदैँछ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सुरुङमार्फत भेरीको पानी बबईमा पुर्‍याएर ४६ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

सो अवसरमा आयोजनाका निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको जानकारी गराए । उनले आर्थिक वर्ष २०६९-८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए । उनले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्नेमा जोड दिए ।