• सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिसहोम

डिसहोमले पछिल्लो समय आफ्नो सेवा प्रवाह कसरी गरिरहेको छ ?  


ADVERTISEMENT


डिसहोमले एउटा तह पार गरेको छ । सरकारको डिजिटलाइजेसनको योजनामा हामी अघि बढेका छौँ । एउटै ठाउँमा बसेर कहीँ पुगिँदैन भनेर हामी अन्य योजनाका साथ अघि बढेका छौँ । यस्तै हामी स्याटेलाइटबाट सेवा प्रवाह गरिरहेका छौँ । अब हामी ‘ओटीटी प्लाटफर्म’बाट पनि सेवा दिँदैछौँ । त्यो बाहेक केबलका लागि सिम टिभी किन्ने प्रक्रियामा छौँ । यसरी हामी अघि बढिरहेका छौं ।


ADVERTISEMENT

# # #


नेपालमा अहिले डीसहोम पहुँचताको अवस्था के छ ? 

अहिले नेपालमा घरधूरीका हिसाबले ६०-६५ लाख रहेको छ । त्यसमध्ये ८० प्रतिशत घरमा बिजुली पुगेको अनुमान छ । त्यो भनेको ४८-५० लाख घरधूरी हो । यो अवस्थामा हामीले १८ लाख घरहरुमा ‘सेटअप बक्स’ बाँडेका छौँ । अन्य कम्पनीले बाँडेको १२ लाख जति होला । त्यो हिसाबले ३०-३२ लाख घरहरु मात्रै आउँछन् ।

अझैपनि बिजुली पुगेर पनि ३० लाख जति घरहरु र बिजुली नपुगेका २० लाख घरहरु टेलिभिजनको पहुँचबाट बाहिर छन् । त्यसमा केही समस्याहरु छन् । त्यो भनेको एउटा भारतीय ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) तराई क्षेत्रमा व्यापक भएको देखिन्छ ।  यसलाई रोक्नुपर्नेछ ।

बजारमा अहिले प्रतिस्पर्धा छ । त्यसकारण एक हिसाबले यो अवसर पनि हो । तर पहिलो चुनौतिका रुपमा भारतीय डीटीएच रहेको छ । यस्तै चुनौति भविष्यमा आउने भनेको ‘क्लिन फीड’को हो ।

खास के कारणले ‘क्लीन फीड’ को बिरोध गर्नुपरेको हो तपाईंहरुले ?

सरकारले ‘क्लीन फीड’को नीति अघि सारेर पास पनि गरिसकेको छ । यो अवस्थामा हामीले विरोध गरेको पनि होइन । तर, हामीले भनेको के हो भने एक किसिमले चलिरहेको र त्यही अनुसार बानी परेका ग्राहकलाई भोलि ‘क्लीन फीड’ले गर्दा निश्चित ‘कन्टेन्ट’ नआउँदा त्यसको परिणाम के हुन्छ ? अहिले भारतीय डीटीएच तराईमा छ्यापछ्याप्ती छ । ‘क्लीन फीड’ लागू गर्यो भने त्यो झन बढेर जाने हो कि भन्ने भय हो । अहिले नै नियन्त्रण बाहिर छ भने भोलि  के होला ? खुलमखुल्ला दोकान थापेर बेचिरहेका छन् । सरकारले हामी हटाउछौं भनेर आश्वासन दिएको अवस्था पनि छैन । हामीले धेरैजस्तो च्यानल ल्याएको भारतबाटै हो । त्यहाँबाट आउने एक दुई च्यानलबाहेक कुनैपनि ‘क्लीन फीड’मा छैनन् ।

भोलि ‘क्लीन फीड’ लागू भएर ती कुनैपनि च्यानल नआउँदा ग्राहकले हाम्रो ‘सब्सक्रिप्सन’ किन लिन्छन् ? त्यसकारण यसले शंका पैदा गरेको छ । अर्को भनेको सरकारले जुन राजश्व उठाइरहेको छ, ‘क्लीन फीड’ नभएका च्यानल अवैधानिक हुनेबित्तिकै एक रुपैयाँ पनि राजश्व उठ्दैन ।

यस्तै सञ्चारमन्त्रालयमार्फत सरकारलाई दुई प्रतिशत रोयल्टी पनि बुझाइरहेका छौँ । हामी खुम्चियौँ भने यो सुक्छ । भोलि व्यावसाय नै गर्न नसक्ने अवस्था आउन सक्छ । हाम्रो व्यापार बन्द भयो भने भोलि भारतीय डीटीएचमा नेपाली च्यानल त आउँदैन । यस्तो अवस्थामा सूचनाको स्रोत नै पो खल्बलिने हो कि भन्ने शंका पैदा गरेको छ । त्यसो भयो भने अहिले तराईमा डीटीएच हेरिरहेको व्यक्तिलाई तिम्रो देशको प्रधानमन्त्री को हो भन्दा नरेन्द्र मोदी भन्ने अवस्था सिर्जना हुन सक्छ । राज्यका निर्णयहरुमा पनि बेखबर हुन सक्छ । त्यसकारण अहिलेकै अवस्थामा विदेशी च्यानल विज्ञापनरहित भन्ने कुराको अर्थ छैन । विज्ञापन नै बन्द गर्ने हो भने टेलिभिजनबाहेक अरु मिडिया पनि छन् नि ! भोलि विदेशबाट आउने म्यागाजिनमा विज्ञापन हाल्न पाइने कि नपाइने ?  आज, फेसबुकमा तपाईंले विदेशी विज्ञापन हेरिराख्नुभएको छ । हाम्रो मात्रै घाँटी न्याँक्ने ? अरुले जे गरे त्यही भन्दा पनि व्यापारका दृष्टिकोणले पनि हेर्नुपर्यो ।

धेरै व्यावसायीहरुले नेपालमा लगानीको वातावरण नै छैन भनिरहेका छन् । यसमा तपाईंको धारणा के छ ?

मलाई दुई तीनवटा कुराहरु लाग्छन् । नेपालमा व्यावसाय गर्ने मान्छेलाई राम्रो किसिमले हेरिँदैन । सबैभन्दा डरलाग्दो पक्ष त्यो हो । कसैले दुई रुपैयाँमा सामान किनेर २ रुपैयाँ ५० पैसामा बेच्यो भने त्यसले ५० पैसा ठग्यो भनिन्छ ।

कुनैपनि देशको विकास गर्नका लागि व्यावसाय विस्तार गर्नैपर्छ । मैँले नेपालमा स–साना काममा पनि धेरै अवसर देख्छु । तर कार्यान्वयन गर्ने कुराको अभाव भइरहेको छ । कारण किन भन्दा त्यतातिर प्रोत्साहन नै छैन । न सरकारको प्रोत्साहन छ, न त समाजको नै ।

मैँले अघि भनेजस्तै व्यावसाय गरियो भने ठग्यो भनिन्छ । व्यवसाय विस्तारका लागि चाहिने सेवा सुविधा दिन राज्य पछि हटिरहेको जस्तो देखिन्छ । काम गर्नुपर्यो भने थुप्रै कानुनी झण्झट पार गर्नुपर्छ । त्यसको प्रक्रिया झन् दिक्कलाग्दो हुन्छ । यस्ता कुराहरुमा सुधार आवश्यक छ ।

अब डिसहोम तिरै फर्कौं । आगामी योजनाहरु के के छन् ?

पहिलेदेखि नै हामी नविनतामा विश्वास गर्दै आएका छौँ । हामीले नेपालको भौगोलिक अवस्थालाई अध्ययन गरेर नै स्याटलाइटमा आधारित ‘डीटीएच’ प्रविधिलाई भित्र्यायौँ । त्यस्तै हामीले टेलिभिजन च्यानलमार्फत नेपाली चलचित्र र खेलकुदका क्षेत्रमा योगदान गरिरहेका छौँ । रमाइलो टिभी, एक्सन स्पोर्टस् मार्फत पनि हामी सेवा दिइरहेका छौँ । सन् २०१८ को विश्वकप हामीले एक्सन स्पोर्टस् मार्फत नेपाली कमेन्ट्रि सहित हेर्न पायौँ । जुन यसअघि कहिल्यै भएको थिएन ।

‘ओटीटी प्लाटफर्म’को योजना पनि हामीले ल्याएका छौँ । यस्तै रिचार्ज प्रणालीमा पनि हामी केही परिवर्तन गर्दैछौँ । यो सबै गरेको ग्राहकलाई धेरै सुविधा दिन हो । अर्को हाम्रो इन्टरनेटको प्रोजेक्ट पनि छ । सहरी क्षेत्रमा तारबाट र ग्रामिण भेगमा स्याटलाइटबाटै इन्टरनेट दिने भनेर हामी लागेका छौँ । भोलिका दिनमा पनि थुप्रै योजना ल्याउँदैछौँ । यो गुणस्तरीय पनि हुनेछ । 

अन्त्यमा, सुदीप आचार्यले जहाँ हात हाल्यो, त्यहाँ सफलता प्राप्त भएजस्तो देखिन्छ । यस पछाडिको राज के हो ?

हुनत व्यावसायमा पारिवारिक पृष्ठभूमीले पनि काम गर्छ भन्छन् । तर, मलाई लागेको के हो भने व्यवसाय भनेको सानैदेखि नै मन मस्तिष्कबाट आउने रहेछ । यसको म तपाईंलाई एउटा उदाहरण सुनाउँछु । बुढानीलकण्ठ स्कुलमा चार कक्षामा पढ्दै गर्दाका कुरा हो । त्यतीबेला हामी हिउँदोको समयमा अत्याधिक गुच्चा खेल्थ्यौँ । स्कुलभित्रै हामीहरुबीच बाहिरकोभन्दा महंगो मूल्यमा गुच्चाको किनबेच हुन्थ्यो । होस्टेलबाट महिनामा एक पटकमात्रै घर आउन पाइन्थ्यो ।

घरबाट फर्किँदा ‘पकेट मनी’ दिइन्थ्यो । बाहिर सस्तो पाइने भएकाले त्यो पैसाले खल्तीभरि गुच्चा किनेर जान्थें । अनि बेचिन्थ्यो । मलाई थाहा छैन, त्यो सोच ममा कसरी आयो ? तर, यसको मतलब पैसा वा फाइदा मात्रै पनि होइन । काम गर्नुपर्छ भन्ने पनि हो । त्यसपछि के गर्ने भन्ने योजना बनाउनु पनि हो । सबैभन्दा महत्वपूर्ण कुरा मैँले यसपछि के गर्ने भन्ने हो । अहिले म जे छु, त्यो गर्नमा यस्तो कुराहरुको पनि भूमिका छ । सफलताको कुरामा त जे कर्म गरिन्छ, त्यसमा ईमान्दार भएर ईनोभेटिभ भएर निरन्तर लगनशीलता भयो भने सबै कुरा सम्भव छ ।