काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरु स्थिगित गर्ने निर्णय गरेको छ । विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन सार्वजनिक भेला, सम्मेलन र सभाहरु नगर्ने भएको हो ।


ADVERTISEMENT


बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको जोखिममा रहेका राष्ट्रको सूचिमा राखेकाले यसबाट सतर्क रहन उक्त निर्णय गरेको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह र जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरी नेपाली कांग्रेस पार्टी र पार्टीसंग आवद्ध सबै संगठन र संस्थाले सबै तहका ठूला भेला, सम्मेलन र सभाजस्ता कार्यक्रमहरु आजकै मितिबाट लागू हुनेगरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिएको छ ।’


ADVERTISEMENT

# # #


यद्दपी पार्टीको १४ औँ महाधिवेशनको तयारीका आन्तरिक कामहरु भने जारी रहने प्रवक्ता शर्माले बताए । उनले अन्य मुद्दाहरुलाई थाती राखेर कांग्रेसले कोरोनाको जोखिम हुन नदिनका लागि सरकारलाई दह्रो साथ दिने उनले बताए । कांग्रेसले नेपाल भित्ररहेका नेपाली मात्रै होइन, कोरोना प्रभावित देशमा रहेका नेपालीहरुलाई पनि यसबाट बच्नका लागि आवश्यक तरिका अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले कारोनाको जोखिमबारे नेपाली समाजलाई सूचित गराउन ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म’ सतर्कता र चेतनाको अभियान पनि सुरु गर्ने उनले बताए ।