काठमाडौँ – सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल अहिलेसम्म विश्वभर फैलिएको कारोना भाइरस (कोभिड–१९)बाट संक्रमित नरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेका खतिवडाले नेपालमा कोरोना भाइरसबाट संक्रमित भनिएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । ‘अहिलेसम्म नेपाल कोरोना भाइरसबाट संक्रमित भएको छैन ।’ उनले भने, ‘जुन मान्छेलाई देखिएको भनिएको थियो, परीक्षणपछि भाइरस नेगेटिभ देखियो ।’


ADVERTISEMENT

# # #


नेपालमा यसको संक्रमण नभएकाले मुलुकबाहिरबाट हुनसक्ने संक्रमणमा बढी ध्यान दिनु परेको उनले बताए । कोरोना भाइरसबाट संक्रमित मुलुकहरुबाट आउने यात्रुहरुलाई निगरानीमा राख्नुपरेको उनले जनाए । हवाई यात्रुलाई एयरपोर्टमा ‘स्क्रिनिङ’ गरिरहेको र समस्या देखिएमा ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गरिएको मन्त्री खतिवडाले जनाए ।

‘स्थलमार्गबाट पनि आउने पर्यटकमा यो समस्या हुनसक्ने भएका हुनाले कतिय स्थानबाट पर्टयकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय नै भइसकेको छ’ उनले भने, ‘यसका अतिरिक्त हामीले विदेशीहरु नेपाल भित्रिने करिब ६ स्थलमार्गमा पनि सुरक्षामा कडाई, क्वारेन्टाइनका व्यवस्था गरेका छौँ ।’ मानिसहरुको बढी ओहोरदोहोर हुने नेपाल–भारतका ३७ नाकामा टोलीहरु खटाएर स्वास्थ्यकर्मीहरु खटाएर जोखिम हुने स्थितिमा निगरानी राख्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । अन्य नाकाहरुमा पनि सरकारले थप सुरक्षा संयन्त्र अपनाउने मन्त्री खतिवडाको भनाई छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उच्चस्तरीय समवन्वय समितिले पनि यसबारे आवश्यक निर्णय र निर्देशन गरिरहेको उनले बताए । उनले भने, ‘उक्त समितिमार्फत आज मात्रै हामीले थप सुरक्षा अपनाउने कुराहरु र खासगरी आभारभूत औषधीहरुको अभाव हुन नदिन स्टकर र आयात गर्ने कुराहरुबारे आवश्यक छलफल र निर्देशन दिएका छौँ ।’ उनले छिमेकी देशले औषधीको निर्यातमा लगाएको प्रतिबन्धमा नेपालको लागि विशेष छुटको लागि पनि आग्रह गरेको बताए ।

यस्तै मास्कको आपूर्ती र उत्पादन बढाउनका लागि निजी क्षेत्रले पनि सरकारसँगै सहकार्य गर्ने मन्त्री खतिवडाले जानकारी दिए । नेपालमा कोरोनाको संक्रमण हुनै नदिने र कारणवशः हुन लागे पनि त्यसबाट बचाउने गरी पूर्वाधार बढाउने कुरा अघि बढेको उनले जनाए ।