काठमाडौँ, फागुन २० । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । बिहीबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसँग उनको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको बताए।


ADVERTISEMENT


‘मेची–महाकाली अभियानबारे तपार्इंले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्’ भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘तर मलाई तपाईंले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने विश्वास लाग्दैन।’ एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो।


ADVERTISEMENT

# # #


लहानमा नेपाल महिला संघद्वारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए। अध्यक्ष ओलीसँगको भेटमा मन्त्री निधिले संबिधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए।

निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले संबिधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्ट पारे। भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका थिए