रुपन्देही – प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएको छ । बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ। सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् ।
प्रदेश ५ का ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल र चार वटा मेडिकल कलेज रहेका छन् । प्रदेश नम्बर ५ मा भारतसँग सीमा जोडिएका नाकाहरुमार्फत आवतजावत गर्नेहरुलाई हेल्थ डेस्कमा राखेर परीक्षण गर्न सुरु गरिएको छ ।
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने रुपन्देहीको बेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयको भनाइ छ ।