इनरुवा– सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गरेका थिए ।


ADVERTISEMENT


पाँच कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उहाँलाई आफ्नो जग्गा नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाए । तर त्यो धानबालीलाई केही दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उनलाई अब कसरी दिन बिताउने भने चिन्ताले सताएको छ । पाँच कट्ठा जग्गामा लगाएको धानबाट २५ देखि ३० मनसम्म उत्पादन हुने आशा गरेको धानखेती एक्कासि आएको बाढीले बगरमा परिणत गरिदिएपछि अहिले उनी चिन्तित भएका छन् ।


ADVERTISEMENT

# # #


रहमान जस्तै इनरुवा नगरपालिका–१० का डोमी मन्सुरीको अवस्था पनि उस्तै छ । उनले आफ्नै १० कट्ठा जग्गामा धानबाली लगाए । तर एक्कासि केही दिन अगाडि आएको बाढीले धान बगाएपछि अहिले उनी चिन्तित भएका छन् । रु ४० हजार लगाएर गरेको धानबाली बाढीले बगाएपछि अहिले उनलाई कसरी परिवार चलाउने भने समस्याले सताएको छ । वर्षभरि खान पुग्ने धानको बाली बगाएपछि कसरी वर्षभरि गुजारा चलाउने भने चिन्ताले रहमानलाई पिरोलिरहेको छ ।

उनी जस्तै जल्पापुरका मोहम्मद जाकिरको अवस्था पनि उस्तै भएको छ । उनले २०० देखि ३०० सम्म मजदुर ल्याएर मेहनतका साथ गरेको धानखेती बगाएपछि अहिले उहाँ के गर्ने भन्ने सोचमा परेका छन् ।

खेती गर्ने बेलामा पानीको अभाव, मजदुरको अभाव, हलो जोत्ने मजदुर तथा ट्र्याक्टरको अभावलगायतका समस्याका बाबजुद गरेको धानखेती छिनभरमै बगरमा परिणत भएपछि अहिले उनी समस्यामा परेका छन् । धानखेती बगरमा परिणत भएपछि उनी परिवार कसरी चलाउने भने सोचमा डुबेका छन्।

घरमा भएको अन्नपात, लत्ताकपडा, बाढीले बगायो, मेहनतका साथ गरेको धानबाली बाढीले बगायो अब के गर्ने भन्ने सोचमा परेको उनी बताउँछन् ।

उनीहरु त सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै जिल्लाका एक लाख कृषकले लगाएको १७ हजार ५०० हेक्टर क्षेत्रफलको धानखेती बाढीले बगाएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । उक्त धानबाली बाढीले बगाउँदा करिब रु दुई करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले बताए ।

यता जिल्ला कृषि विकास कार्यालय, सुनसरीले बाढीले बगाएको धानखेतीको तथ्यांक संकलन गर्ने काम भइरहेको जनाएको छ । धानखेती बाढीले बगाएको ठाउँमा अब पुनः धानखेती लगाउनतर्फ कृषकलाई प्रेरित गर्ने कृषि विकास कार्यालय सुनसरीका विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए ।

उनले तथ्यांक संकलन भएपछि कृषकलाई उचित क्षतिपूर्ति दिलाउनतर्फसमेत पहल गर्ने बताए । त्यसैले धानबाली नष्ट भएका वास्तविक कृषकको विवरण संकलन गरेर राहत दिनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । रासस