काठमाडौँ – विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्‍च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले तयारी थालेको छ । भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ ।


ADVERTISEMENT


कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी कुनै बिरामी आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरु सहितको कोर ‘टिम’ गठन गरि सम्पूर्ण युनिट–सव युनिटहरु तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाईएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेनाले कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरी ‘क्वारेन्टाइन क्याम्प सेटआफ’ गर्न तथा उक्त भाईरस विरुद्ध रोकथामका उपायहरु सम्बन्धी शैदान्तिक तथा व्यवहारिक ज्ञान दिईएको जनाएको छ ।

प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई सचेतनामूलक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा ‘क्वारेन्टाइन क्याम्प सेटआफ’ गर्ने कार्य शुरु गरिएको छ । हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सिमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरिएको बताइएको छ ।

भद्रकालीस्थित सैनिक मुख्यालय परिसरमा कोभिड–१९ को उपचार विधि तथा रोकथामको पूर्वाभ्यासका लागि बनाइएका टेन्ट ।

विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको सेनाले जनाएको छ । सेनाले भनेको छ, ‘कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि रोकथाम तथा न्यूनीकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ।’

नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), मास्क, पञ्‍जा तथा सेनिटाईजर उपलब्ध गराउन मिलाइएको छ भने नेपाली सेनाले माक्स पि.पि.इ.तथा सेनिटाईजरको उत्पादन समेत शुरु गरिसकेको छ ।

भद्रकालीस्थित सैनिक मुख्यालयमा बुधबार कोभिड–१९ सङक्रमणको उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यास गरिँदै ।

कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आयोजना गर्ने विभिन्‍न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पि.टि. परेडमा समेत आवश्यक उच्‍च सतर्कता अपनाईएको छ । सेनाका सहलदर्जालाई विशेष परिस्थितमा मात्रै बिदा दिने गरिएको र बिदाबाट आएकाहरुलाई पनि अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यारेक हाताभित्रका वासस्थानहरुमा समेत खाटहरुको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था मिलाईएको र सकलदर्जालाई व्यारेक हाताभित्र नै ‘लक डाउन’ गरिएको छ। नेपालमा कोरोनाको संक्रमण रोकथामका लागि सरकारको निर्देशन अनुसार नेपाली सेना तयार रहेको जनाएको छ ।