– डा. वीपी बडाल


ADVERTISEMENT


डर हुँदै हुँदैन, यो त भ्रम मात्र हो । जन्मेको हुर्किन्छ र मर्छ, विश्वव्यापी सत्य अथवा साश्वत सत्य यही हो । थाहा छ मलाई कि मेरो मृत्यु पक्का छ । डर पैदा गरेर मेरो मृत्यु रोकिंदैन । मुर्ख व्यक्ति मात्र डराउने गर्दछ ।


ADVERTISEMENT

# # #


कोरोना मात्र एउटा करण हो, कारक त मानवीय प्रारब्ध हो । सचेत रहनु अर्थात् पूर्ण रुपमा होसमा रहनु नै ध्यान–योग हो । हरपल जागृत अवस्थामा रहनु र संसारलाई करुणामय रुपले दृष्टिपात गर्नु नै जीवन हो । पूर्ण जागृत भएर कोरोना के हो ? कोरोना कसरी सर्छ ? कोरोनाबाट कसरी बाँच्न सकिन्छ र के के गर्नु पर्छ ? यति ४ प्रश्नको उत्तर खोज्नुहोस् र ढुक्कसंग पाएको उत्तर–ज्ञान अनुरुप आफ्नो जीवनयापन सुरु गर्नुहोस् । प्रारब्धमा कोरोनाबाटै मृत्यु लेखिएको रहेछ भने जति डराए, रोए, कराए पनि केहि हुन सक्दैन । कोरोनाबाट डराउनु मुर्खता हो भने हेल्चेक्राईं गर्नु, बेहोसी हुनु महामुर्खता हो । नडराउनुस्, ढुक्क रहनुस्, पूर्ण जागृत र होसियार रहनुस् । डर भ्रम मात्र हो ।

वृद्धाश्रममा कोरोना सम्बन्धि जनचेतना जगाउनु अति आवश्यक छ । केहि भयो भने स्थिति भयावह हुन् सक्दछ । जेष्ठ नागरिक समाजका ऐना हुन् । यो समाजलाई २१ औं शताब्दीसम्म ल्याउने श्रेय जेष्ठ नागरिकलाई नै जान्छ । तर, आज तिनै समाजका अग्रज जेष्ट नागरिकहरु एक्लै वृद्धाश्रमको अँध्यारो कोठा भित्र बिरामी बन्दी जस्तो जीवन बिताउन बाध्य छन् किन ? यसरी वृद्धवृद्धालाई एउटा परिसरभित्र समाज सेवाको नाममा बन्दी बनाउन मिल्दैन । आज देशमा सयौँको संख्यामा यस्ता वृद्धाश्रमहरु छन् ।  यहाँ कोरोना प्रवेश गर्यो भने स्थिति अकल्पनीय हुन सक्छ ।

मानवीय जीवन एउटा अमुल्य पाठशाला हो । पल पलमा गरिएका दुःख सुखका अनुभूतिहरुको एकमुष्ट अभिलेख नै जीवन हो । अर्थात् जीवन एक अनुभव हो । जीवन एउटा मौका हो । चिनियाँ एउटा उखान छ, एउटा वृद्ध व्यक्तिको मृत्यु हुँदा २०० वर्षको इतिहाँस मर्दछ । यो इतिहासको सम्रक्षण र सम्बर्धन गर्नु आजको आवश्यकता हो । यो कार्य वृद्धाश्रमबाट नै सम्भव छ । तर, हाम्रो समाजमा वृद्धाश्रम सम्बन्धि केहि गलत अवधारणा छन् पहिला यसको निवारण गर्नु पर्दछ । अर्थात् यस्ता वृद्धाश्रमलाई वानप्रस्थ आश्रममा रुपान्तरण गर्नु पर्दछ ।

कोरोनाको कहर संग संगै, नेपालमा वृद्धाश्रमको होइन, वानप्रस्थ आश्रमको आवश्यकता छ । वृद्धाश्रमको परिभाषा नै परिवर्तन गर्नु पर्दछ  । यो त एउटा महाविद्यालय हो । वानप्रस्थ आश्रमलाई विश्व विध्यालयको रुपमा विकास गर्नु पर्दछ । ज्ञान उत्पादन गर्ने अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्दछ । ती जेष्ट नागरिकहरुको इतिहास र अनुभव लेखिएर कृतिको रुपमा प्रकाशित हुनु पर्दछ । त्यो अनुभव, त्यो जीवन आगामी पुस्ताको लागि मार्ग दर्शन बन्ने छ । सार्स, इबोला, कोरोना, प्लेग जस्ता महामारी मासुजन्य पदार्थबाट उत्पत्ति भएका हुन्  । वानप्रस्थ आश्रम धार्मिक, आध्यात्मिक र वैज्ञानिक हुनु जरुरी छ ।

हाम्रो समाजका शिक्षा, स्वास्थ्य, कला, जीवन यापन आदि सम्पूर्ण क्षेत्रमा पश्चिमी दर्शनको अपुरो प्रभाव परेको छ । बुद्धका उपदेश र वेद जस्ता उत्कृष्ट ज्ञानको कतै चर्चा हुँदैन । शिक्षामा त अध्ययन विधि नै उतैको छ । वेद नेपालमा लेखिएको हो । वेदको ज्ञान नेपालमा निर्माण गरिएको हो । बुद्ध नेपालमा जन्मिएका हुन् । नेपाली समाजको दर्शन कुनै पनि पश्चिमी वाद भित्र बाँध्न सकिंदैन । हामीले हाम्रो दर्शन बिर्सनु हुँदैन । पूर्वीय दर्शनको उद्गम बिन्दु नेपाल हो ।  पूर्वीय दर्शन नै हाम्रो परिचय हो । यो दर्शन कुनै नीति रिति कर्म काण्डमा जकडिएको छैन । वृद्धाश्रममा यसको वैज्ञानिक प्रयोग (ध्यान, जप, प्राणायाम, योग, यज्ञ अनि भजन अनिवार्य संचालन हुनु पर्दछ) कोरोनाको कहरमा होसियारी अपनाउनु जरुरी छ ।

जीवनको अनिवार्य शर्त नै मृत्यु हो । पुर्वीय अर्थात् वैदिक दर्शन अन्तर्गत मानवीय आयुलाई १०० वर्ष मानिएको छ । हरेक मानवले पहिलो २५ वर्ष ब्रह्म्हाचार्य आश्रम पालन गर्नु पर्छ । गुरुकुल जानु पर्छ । सम्पूर्ण विद्या आर्जन गर्नु पर्दछ । जीवन जिउने सम्पूर्ण कला सिक्नु पर्दछ । असल र पारश्रमी  विद्यार्थी बन्नु पर्दछ । आफ्नो सम्पूर्ण काम आफैं गर्नु पर्दछ । यस आश्रममा नित्य स्नान, भिक्षाटन, गौ सेवा, आश्रम सरसफाई व्यवस्थापन, गुरु भक्ति सेवा र अध्ययन अनुसन्धान दैनिक कार्यहरु हुन् ।

दोश्रो २५ वर्ष (२५–५०) मा गृहस्थ जीवनको पालना गर्नु पर्दछ । सन्तान उत्पादन, अर्थोपार्जन गर्नु पर्दछ । सन्तानको शिक्षा दिक्षाको प्रवन्ध मिलाउनु पर्दछ । आफ्नो समाजमा नाम र यश कमाउनु पर्दछ । उत्कृष्ट पारिवारिक जीवन बिताउनु पर्दछ । छोरा छोरीको भविष्य सुनिश्चित पार्नु पर्दछ र वानप्रस्थ आश्रमको तयारी गर्नु पर्दछ । तेश्रो २५ वर्ष (५०–७५) मा वानप्रस्थ आश्रम पालन गर्नु पर्दछ । तीर्थाटन गर्नु पर्दछ । घुम्नु पर्दछ । देश विदेश भ्रमण गर्नु पर्दछ । सिक्नु पर्दछ । जीवनमा बाँकी रहेका सम्पूर्ण इच्छा तथा रहरहरु पुरा गर्नु पर्दछ । बाँकी अध्ययन पूरा गर्नु पर्दछ, कीर्ति राख्नु पर्दछ । आहार बिहार पूर्ण प्राकृतिक बनाउनु पर्दछ । विस्तारै घर गृहस्थीबाट टाढा हुनु पर्दछ । त्यागको भावनाको विकास गर्नु पर्दछ । सन्यास आश्रमको तयारी गर्नु पर्दछ ।

अन्तिम २५ वर्ष (७५–१००) सन्यास आश्रमको पालन गर्नु पर्दछ । त्याग नै शुख र सन्तुष्टिको अधार हो । भगवान बुद्धले सब त्याग्नु भयो । यस समयमा हामी सम्पूर्ण भैतिक तथा अभौतिक बन्धनबाट मुक्त हुनु पर्दछ । दैविक शक्तिको एक भक्त चित्तले उपासना गर्नु पर्दछ । घर परिवार इष्ट मित्र कसैको बोझ बन्नु हुँदैन । सबैबाट टाढा मुक्त क्षेत्रमा आफ्नो प्राण पखेरु प्रकृतिमा मिलाउनु पर्दछ । तपस्या गर्नु पर्दछ । मृत्युकला सिकेको हुनु पर्दछ । सबै बन्धनबाट मुक्त भै सके पछि  मृत्युको भय हुँदैन । सजिलै आत्मा अथवा प्राण प्रत्यारोपण हुन्छ । जसरी एउटा आँपको बिउबाट रुख र उक्त रुखबाट हजारौं फलहरु पैदा हुन्छन । एउटा दिपले सयौं अरु दिप बाल्छ र उज्यालो पार्छ । त्यसैगरी एउटा प्राण, आत्मा प्रत्यारोपण हुन्छ । पुनर्जन्म हुने नहुने कुरा यस्तै उत्कृष्ट बिजहरुको कर्मले निर्धारण गर्दछ ।

सम्पति होस् या नहोस्, परिवार हुन् या नहुन, शरीरमा रोग होस् या नहोस सबै मानव जातिले समाज कल्याणको लागि यो वैज्ञानिक मार्ग– वानप्रस्थ आश्रम अपनाउनु जरुरी छ । आफुले जानेका सिकेका ज्ञान फैलाउनु पर्दछ । परिवार इष्ट मित्रको बोझ भएर बस्नु हुँदैन । प्रकृतिसंग सक्षात्कार भए अर्थात् प्रकृतिसंग मिलेर बसे कुनै किसिमको रोग लाग्दैन ।

कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । वृद्धाश्रमहरु होसियार र व्यवस्थित हुँदै वानप्रस्थ आश्रममा परिणत हुनु पर्दछ । अध्ययन, अनुसन्धान, विकास तथा समाज सेवाको केन्द्र बन्नु पर्दछ । कोहि पनि अनाथ, असक्त, रोगि हुनु हुँदैन । ९० प्रतिशत रोग मनोविज्ञान हो । त्यागको भावना जागृत भए पछि खासै रोग लाग्दैन । किनकि हामीमा कुनै किसिमको तनाव बाँकी रहँदैन । तनाव नहुने बितिक्कै धेरै रोग स्वतः जाती हुन्छन । हरेक भगवानको दर्शन ग्रहण गर्नु पर्दछ । देवताको दर्शन गर्नु भनेको अर्थ दर्शन प्रसाद ग्रहण गर्नु हो । देवताको ज्ञान शक्ति र आदर्श आफ्नो जीवन पद्धतिमा अनुसरण गर्नु हो । त्यसैले वानप्रस्थ आश्रम दर्शनीय क्षेत्र हुनु पर्दछ ।

आजको प्रमुख आवश्यकता व्यवस्थित वानप्रस्थ धर्मको पुनरुत्थान हो । जीवनको सुरक्षित् योजनाको निर्माण हो । सक्षम् वैज्ञानिक पूर्वीय जीवन पद्धतिको अनुसरण र विकास हो  ।  प्रकृति प्रेमी सरल तथा उत्कृष्ट जीवन शैलीको विकास गर्नु हो । ५० वर्ष पुगेपछि सबै वानप्रस्थ आश्रम जानु पर्दछ र यसको लागि परिवारलाई पनि उत्प्रेरणा दिनु पर्दछ । नेपालमा हालसम्म पनि कुनै वानप्रस्थ आश्रम निर्माण हुन सकेका छैनन् । कोरोना जस्ता महामारीबाट सुरक्षित् रहन यसको टड्कारो आवश्यकता देखिन्छ । घर छोड्न डराउनु पर्दैन किनकि एक दिन अवश्य छोड्ने हो, ढिलो होस् या चाँडो !

वृद्धाश्रम कमजोर अनि अनाथ बस्ने स्थान होइन, पुण्य तपोभूमि हो ।आगामी युवा विश्वलाई नयाँ ज्ञान र मार्ग दर्शन गराउने विश्वविद्यालय हो । हाम्रो वैदिक र बुद्धको ज्ञानमा आधारित पूर्वीय सभ्यताको अनुसन्धान क्षेत्र हो । वैदिक र बौद्धिक ज्ञानको भण्डार हो । हालका अस्पताल प्रवृतिका, अनि दुःखी अनाथ, गरीब बस्ने जेल जस्ता, थोरै लगानीले स्थापना भएका सबै वृद्धाश्रमलाई एकीकृत गरी नेपालका ७५३ वटै स्थानीय सरकारसंग समन्वय गरी वानप्रस्थ आश्रमको निर्माण गर्नु हाम्रो आवश्यकता हो ।

तपाईं हामी सबै जुटेर आफ्नो पालिकामा कम्तिमा एउटा बानप्रस्थ आश्रम निर्माण गर्न लागि परौं । कोरोना भन्दा खतरनाक भाइरसबाट पनि सुरक्षित् वानप्रस्थ आश्रम निर्माणमा जुटौं । पूर्ण जागृत भएर बाँचौं । आफ्नो जीवन र परिवारको उन्नतिको लागि आजै सोचौं । घर परिवारको बोझ तथा मायारुपी बन्धनबाट मुक्तिको मार्ग खोजौं, डराउनु पर्दैन । डर त केवल भ्रम शिवाय केहि होइन ।