मेनका चौधरी, धम्बोझी – बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो ।


ADVERTISEMENT


उक्त निकुञ्जले जनाएअनुसार सन् २०१८ को गणनामा बयस्क बाघको सङ्ख्या २१ पुगेको छ । सन् २०१३ मा यहाँ चारवटा बाघ मात्र थिए । तर निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु बढेसँगै राजमार्गका कारण वन्यजन्तुहरु असुरिक्षत पनि हुन पुगेका छन् ।


ADVERTISEMENT

# # #


“बाघका लागि आहारविहार, बस्ने वातावरण र ठाउँ आदिको व्यवस्था गरेपछि बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ” निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने । बाघको सङ्ख्या सन् २०२२ सम्ममा २५० पुर्याउन सकिने प्रतिबद्धता नेपालको रही आएको छ । त्यो पूरा गर्न सकिने उनले बताए । यहाँ भइरहेको बाघको बृद्धिले पनि यसलाई सजिलो बनाएको उक्त निकुञ्जको धारणा छ ।

तर पनि यस निकुञ्जमा पर्ने राजमार्गका कारण यहाँका बाघ लगायतका अन्य वन्यजन्तुहरुको सुरक्षा भने जोखिममा रहेको बताइएको छ । बाघको सङ्ख्या यहाँ बढ्दै गएको छ तर पनि अरु वन्यजन्तुलाई पनि राजमार्गमा के कसरी जोगाउने भन्ने जोखिम भने कायमै रहेको यस निकुञ्जका अधिकारीहरु बताउँ। राष्ट्रिय निकुञ्जको राजमार्ग आसपासमा वन्यजन्तु दुर्घटनामा पर्न थालेकाले असुरक्षित हुने गरेको निकुञ्ज अधिकारीहरुको भनाइ छ ।

यो राष्ट्रिय निकुञ्जभित्र पूर्व–पश्चिम क्षेत्रमा ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्ग करिब ३० किलोमिटर पर्दछ । वन्यजन्तुहरु राजमार्गबाटै वारपार गर्ने गर्दछन् । यस क्रममा वन्यजन्तुहरु दुर्घटनामा पर्ने समस्या रहेको निकुञ्ज अधिकारीहरुको भनाइ छ । यसले एकातर्फ राजमार्गका कारण वन्यजन्तु असुरक्षित रहेको देखाउँछ भने अर्कातर्फ राजमार्ग पनि वन्यजन्तुका कारण असुरक्षित हुन पुगेको पनि देखिन्छ । वन्यजन्तुले सडक पार गर्ने क्रममा सवारी दुर्घटना पनि हुनसक्ने देखिन्छ ।

निकुञ्जको सुक्खा क्षेत्रमा बसोबास गरी आएका वन्यजन्तु पानी पिउन राप्ती नदीको किनारमा पुग्ने गर्दछन् । ती जनावर पानी पिउन प्रायः रातको समयमा जाने र त्यस समयमा पनि राजमार्गमा सवारीसाधनहरु सञ्चालन भइरहने भएकोले राजमार्ग पार गर्ने क्रममा ती वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेको पाइएको छ । त्यसैगरी त्यही सडक भएर यात्रा गर्ने व्यक्तिहरुले पनि सडकमा जथाभावी खानेकुरा फ्याँक्ने गरेकाले पनि ती खानेकुरा टिप्न जाँदा केही जनावर गाडीको ठक्करले मारिएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

उक्त निकुञ्जले दिएको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको अवधिमा २६४ जनावर सडक दुर्घटनामा परेर मरेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५÷७६ मा ४५, आव २०७४÷७५ मा ७२, आव २०७३÷७४ मा ८३, आव २०७२÷७३ मा ५० र आव २०७१÷७२ मा २४ वटा वन्यजन्तुको मृत्यु दुर्घटनाबाट भएको छ । यसरी राजमार्ग वरपर भएको दुर्घटनामा परेर मृत्यु हुनेमा बँदेल, मृग, खरायो धेरै रेहका आदि छन् । यस्तो दुर्घटना खासगरेर सुक्खायाममा बढी हुने गरेको पनि पाइएको छ । सुख्खा याममा पानी पिउन धेरै जनावर राप्ती किनारमा जादा दुर्घटना परेको उक्त निकुञ्जका अधिकारीहरुको अनुभव छ । गत वर्ष मात्र दुर्घटनाको जोखिममा परेका र घाइते अवस्थामा भेटिएका ४ सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् । यहाँ जैविक विविधताको दृष्टिले आठवटा पारिस्थितिकीय प्रणाली, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रजातिका पन्छी, ५८ प्रजातिका माछा, ३२ प्रजातिका स्तनधारी, २२ प्रजातिका सरीसृप तथा छ प्रजातिका उभयचर पाइन्छन् ।

त्यसैगरी यस निकुञ्जमा सालक, हुँडार, चौका, जङ्गली हात्ती र पाटेबाघजस्ता संरक्षित स्तनधारी वन्यजन्तु, कालो गरुड र राजधनेशजस्ता पन्छी र अजिङ्गर, सुनगोहोरो जस्ता संरक्षित घस्रने वन्यजन्तु समेत रहेका छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ मानिएका पङ्छी पनि अभिलेख गरिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको हुँदा ठूला वन्यजन्तुका लागि यो महत्वपूर्ण वासस्थान पनि हो ।

विसं २०६७ देखि यस राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिएको छ । विसं २०७४ देखि नेपाली सेनाको श्रीमेहर गण यसको सुरक्षार्थ तैनाथ रहेको छ । यो राष्ट्रिय निकुञ्ज नेपालको पछिल्लो पटक घोषित भएकोले भौतिक पूर्वाधार निर्माण गर्नेदेखि लिएर सुरक्षा प्रदान गर्नेसम्मको काम गर्दै आएकोे श्रीमेहर गणका प्रमुख सेनानी जीवन शर्मा बताउँछन् । खासगरी यो निकुञ्जको स्थापना बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले विसं २०६७ मा भएको हो ।

यस निकुञ्जभित्र पर्या–पर्यटन प्रवद्र्धनका लागि पक्की मचान, वन्यजन्तुका लागि पानीपोखरीहरुको निर्माण पनि गरिएको छ । निकुञ्जभित्र हुनसक्ने आगलागी नियन्त्रणका लागि विभिन्न स्थानमा पोखरीहरु निर्माण गरिएको छ । त्यसैगरी हात्तीको वासस्थानका लागि सेडघरहरु निर्माण गरिएको छ भने चोरी शिकारी हुन नदिन र त्यहाँ भित्र हुने जनावरको गतिविधि बुझ्न जङ्गलभित्र ठाउँठाउँमा आधुनिक क्यामराहरु राखिएको छ ।

पछिल्लो समयमा मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सोँचमा पनि परिवर्तन आएको बताइएको छ । मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने समुदायमा केही वर्षअघिसम्म निकुञ्जप्रति त्यस्तो सकारात्मक धारणा नरहेकोमा अहिले भने संरक्षणप्रति नै उनीहरु जुट्न थालेका छन् । निकुञ्जमा घुम्न आउने पर्यटकका कारण त्यहाँका मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनसक्ने चेतना अहिले उनीहरुमा आएको देखिन्छ । त्यसैले यहाँका बासिन्दा पनि संरक्षणको अभियानमा सक्रिय रुपमा लागेको कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सदस्य कृष्ण थारु बताउँछन् । हाल यस निकुञ्जअन्तर्गत नौवटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति रहेका छन् ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरुप बाघको संख्या बढाउन यहाँ विशेषगरी बाघको वासस्थानको उचित व्यवस्थापन गरिएको छ । यसै उद्देश्यले बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी कोर र ३४३ वर्ग कि।मि। मध्यवर्ती क्षेत्र गरी जम्मा ८९३ वर्ग किमी क्षेत्र समेटेर सरकारले नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रुपमा यो निकुञ्जको स्थापना गरेको हो ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग तथा राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चरीसँग जोडिएको छ । उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग तथा कम्दी जैविक मार्गहुँदै भारतको सलेहवा वाइल्डलाइफ सेन्चरी क्षेत्रसँग समेत जोडिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बढी पर्यटक भित्र्यान गत पुसको दोस्रो साता हात्ती सफारीको पनि आयोजना गरिएको थियो । मध्यवर्ती क्षेत्रका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्यगरी बालापुर, खड्गबार र गाभरमा होमस्टे (घरवास पर्यटन) पनि सञ्चालनमा ल्याइएको छ । ती घरबासमा विदेशी र स्वदेशी पर्यटकको आगमन हुन थालिसकेको यसका सञ्चालकहरु बताउँछन् । निकुञ्जको ओभरी, खड्गबार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्नु अघि राझा विमानस्थलबाट झरेका विदेशी तथा स्वदेशी पर्यटकहरु बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गरेर मात्र बर्दिया जाने गरेका छन् । यस निकुञ्जलाई पनि सरकारले यसै वर्ष घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा ५७औँ स्थानमा समेटेको छ । रासस