काठमाडौँ – पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस (कोभिड १९)को नमूना परीक्षण गरिने भएको छ । उक्त अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि सबैको परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका तीनमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । २८ दिनअघि बेलायतबाट फर्किएका एकै परिवारका ५८ वर्षिया छोरा र ८१ वर्षिया आमालाई कोरोना देखिएको थियो ।


ADVERTISEMENT

# # #


बाँकी एक जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका दुईको पाटन अस्पतालमा उपचार सुरु भएको छ ।

उनीहरुमा कोरोनाको आशंका देखिएपछि प्रहरीले कागेश्वरी मनोहरा नगरपालिकामा रहेको उक्त अपार्टमेन्टलाई सोमबार नै शिल गरेको छ ।

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको र संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ पनि सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।