काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्न थालेपछि सरकारले लकडाउन (बन्दाबन्दी)लाई वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले थप १३ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत बैठकले गरेको छ । नेपालमा चौथो पटक लकडाउन थप गरिएको छ भने लकडाउन भएको आज २२ औँ दिन हो ।


ADVERTISEMENT

# # #


सरकारले पहिलो पटक गत चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । त्यसपछि चैत्र २५ गतेसम्म लम्ब्याइएको थियो भने तेस्रो पटकको लकडाउन वैशाख ३ गतेसम्म थप गरेको थियो । यसअघि एक साता मात्रै थप गर्दै आए पनि पछिल्लो पटक कोरोना संक्रमितको संख्या बढिरहेकाले पहिलो पटक झण्डै २ हप्ता लकडाउनको समयावधि थप गरिएको हो ।

मंगलबार मात्रै काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना आमा छोरामा संक्रमण देखिएको थियो । बेलायतबाट २८ दिन अघि नेपाल आएका उनीहरुलाई अहिले ललितपुरको पाटन अस्पतालमा राखेर उपचार भइरहेको छ ।

उता छिमेकी देश भारतले थप १९ दिन लकडाउन थप गर्दै मे ३ सम्म पुर्याएको छ । भारतमा पहिलो लकडाउनको २१ दिने समयावधी आज मध्येराती सकिँदै थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १६

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एक जना उपचारपछि घर फर्किएका छन् ।

पाँच जनाको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पताल, २ जनाको बागलुङस्थित धौरागिरी अस्पताल, २ जनाको काठमाडौँको टेकु अस्पताल, ललितपुरको पाटन अस्पतालमा २ जना र ४ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।